पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पत्रकार तथा सञ्चारकर्मीको पीसीआर परीक्षणको व्यवस्था गर्न, खोपको व्यवस्था मिलाउन र कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेश समितिको भर्चुअल माध्यमबाट आइतबार सम्पन्न दोस्रो बैठकले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरकार मातहतका स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।
बैठकपछि महासचिव गोविन्दप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशमा हाल १० जना पत्रकार सक्रिय संक्रमित रहेका भन्दै उनीहरुसहित प्रदेश र देशभर संक्रमित रहेका पत्रकार तथा सञ्चारकर्मीहरुका शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
बैठकले महासचिव गोविन्द सुवेदीको संयोजकत्वमा कोषाध्यक्ष राजेन्द्र न्यौपाने र सदस्यहरु रञ्जिता शर्मा, प्रकास डोटेल र रमेश वास्ताकोटी रहेको क्विक रेस्पोन्स टीम निर्माण गरेको छ । उक्त टीमले कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकदमी लिने र समाधानका लागि पहल गर्ने बताइएको छ ।
साथै, बैठकले अहिलेको यस विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न र आइसोलेसन सेन्टरको व्यवस्था सहित जोखिम न्युनिकरणका लागि सक्रिय सहभागिता जनाउन प्रदेश अन्तर्गतका सबै जिल्ला शाखाहरुलाई प्रदेश समितिले अनुरोध गरेको छ ।
महामारीको यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी भएको बैठकले औंल्याएको छ । आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकार तथा सञ्चारकर्मीमा महासंघ गण्डकी प्रदेश समितिले अपिल समेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







