प्रधानमन्त्री ओली विश्वासको मत लिनबाट असफल


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल भएका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे। मतदानमा २३२ सांसद उपस्थित रहेका थिए ।

प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए। जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो। एमालेकै माधव नेपाल- झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहे। त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।
प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।

मतदान प्रक्रियामा पीसीआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।