कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक : सांसद भट्टराई


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित




पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक भएको बताएकी छिन् ।

उनले अहिलेको परिस्थितिमा सरकार हरतरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानविय क्षति कम गर्न लागिपरेको अवस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालनासहित आ–आफ्नो ठाउँमा लागि पर्नसमेत आह्वान गरेकी छिन् । भट्टराईले बिहिबार एक प्रेस नोट जारी गर्दै सो आह्वान गरेकी हुन् ।

“कोरोना भाइरसको दोश्रो लहर भारतसँगै नेपालमा तिब्ररूप लिएको छ । रोकथामको लागि नेपाल सरकारले उच्च जोखिम क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ । उक्त निषेधाज्ञाले हाम्रो जनजिवन कष्टकर भएपनि कोरोना नियन्त्रणको लागि यसलाई पूर्णतः पालना गर्नुपर्ने बाध्यतामा हामी छौं ।” प्रेस नोटमा उल्लेख गरेकी छिन् ।

उनले कोरोना नियन्त्रणको लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की क्षेत्र नं. २ अन्तर्गत वडा नं २१ स्थित कृष्ती नाच्ने चौरमा रहेको स्वास्थ्य केन्द्रमा ५ बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र संचालनमा ल्याउनका लागि वडाको नेतृत्वमा स्थानिय सामाजिक अभियन्ताहरुको सक्रियता र सर्वदलिय समझदारी सहित सञ्चालनका लागि अन्तिम चरणमा पुगेको, पोखरा महानगरपालिका वडा नं १६ स्थित मातृ शिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिसकिएको साथै प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आई सी यु बेड स्थापना गर्ने कार्य अगाडी बढेको बताएकी छिन् ।

यसैगरी साविकको लेखनाथ नगरपालिकाको कार्यालय र साविक वार्ड नं २७ को भवनलाई १०० शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरि करिब २ हप्तामा सन्चालनमा ल्याउने तयारिका साथ प्रक्रिया अगाडि बढाइएको, पोखरा महानगर वडा नं. ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको जानकारी दिएकी छिन् ।

स्थानीय सरकार र जनप्रतिनिधिहरू प्रत्यक्ष र जवाफदेहीपूर्ण भूमिकासहित सक्रियताकासाथ महामारी नियन्त्रणमा जुटेको भन्दै भट्टराईले सबैप्रति कृतज्ञता प्रकट गरेकी छिन् । आफ्नो जीवनको प्रवाह नगरी संक्रमितहरुको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरुलाई उच्च सम्मान गर्दै उनीहरुको सहयोग र सेवाका लागि आभार ब्यक्त गरेकी छिन् । सुरक्षाकर्मी संचारकर्मीहरुप्रति पनि भट्टराईले सम्मान ब्यक्त गरेकी छिन् ।

भट्टराईले कोभिड संक्रमणबाट निधन भएकाहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदनासमेत ब्यक्त गरेकी छिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।