प्रतिगमनविरुद्ध पोखरामा नेपाली काँग्रेसको विरोध प्रदर्शन


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन र मध्यावधि चुनावको घोषणा गर्ने कदमलाई प्रतिगमन भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा ६ को वडा कमिटीको आयोजनामा पोखराको हल्लनचोकमा विरोध प्रदर्शन भएको हो।

उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मण पहारी (लक्की) ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको आरोप लगाए।

उनले सार्वभौम नेपाली जनताप्रति जवाफदेहीविहीनताको पराकाष्ठाको रुपमा चिनिएको यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यको कडा प्रतिवाद गर्ने र देशभर आन्दोलनमा होमिने चेतावनी दिए।

प्रदर्शनमा सभापति बलराम गिरीले कोरोनाभाइरसको विश्वब्यापी महामारीको दोश्रो लहरले पैदा गरेको जनस्वास्थ्य संकट र असह्य पीडासँग जुधिरहेको बेला त्यसबाट आम जनताको प्राण रक्षा गर्नुको सट्टा राजनैतिक संकट उत्पन्न गरेर जनतालाई प्रतिरोधको लागि सडकमा ओर्लिन बाध्य बनाइएको भन्दै कडा संघर्ष गर्ने चेतावनी दिए।

विरोध प्रदर्शनमा तरुण दलका जिल्ला सदस्य खिमलाल पहारी, तरुण दलका सचिव प्रकाश न्यौपाने, नेविसंघ नेताहरु गोविन्द नेपाली, नवराज सुनार, सुमन नेपाली, सविन लिमिल्सिना, अविनाश नेपाली, र महिला संघका मन्दरा ढकाल, प्रभा सुवेदीलगायत सहभागी थिए। सचिव शिशिर पहारीले कार्यक्रम संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।