पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टसँगै आईसियू बेडपनि थपिने


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




गुगल फोटो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापनासँगै आईसियू बेडपनि थपिने भएको छ । नागरिक स्तरबाटै आर्थिक संकलन गरेर पश्मिचमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टसँगै आईसियू बेडपनि थपिने भएको हो ।

बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको पहलमा शुरु भएको अक्सिजन प्लान्ट निर्माणलाई हाल महा अभियानको रुपमा अगाडि बढाइएको छ । जस अन्तर्गत अहिले ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान सञ्चालन भइरहेको छ । कोषमा हालसम्म साढे ३ करोड भन्दा बढी संकलन भइसकेको जनाइएको छ ।

यो बिचमा अक्सिजन प्लान्ट निर्माण तथा आर्थिक संकलन कार्यलाई ब्यबस्थित बनाउन बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समिति बनाइएको छ भने सो समितिले काम शुरु गरिसकेको अध्यक्ष बतासले जानकारी दिएका छन् । जस अन्तर्गत अर्थ संकलन समन्वय र खरिद प्रस्ताव मूल्यांकनको काम गरिरहेको छ ।

यसअघी अक्सिजन प्लान्टका लागि ५ करोड लागत अनुमान गरिएपनि खरिद प्रस्ताव मूल्यांकनका क्रममा साढे ३ करोडमै अक्सिजन प्लान्ट निर्माण सम्पन्न हुने देखिएको समितिले स्पष्ट पारिसकेको छ । त्यसैले प्लान्ट निर्माणसँगै आईसियू बेड थप्ने कार्य अगाडि बढाइएको प्रवक्तासमेत रहेका समितिका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले जानकारी दिए । समितिले ९ करोड आर्थिक संकलन गर्ने संसोधित लक्ष्य निर्धारण गर्दै आर्थिक संकलनको अभियानलाई जारी राखेको उनले बताए ।

समितिले अक्सिजन प्लान्ट स्थापना अभियानजस्तै आईसियू बेड थप्ने अभियानमा पनि आर्थिक सहयोगका लागि सहयोगी हातहरु जुट्ने र अभियान सफल हुने विश्वास व्यक्त गरेको छ । जसका लागि दान संकलनको महाअभियानमा जुट्न अपिल गर्दै समितिले ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बताएको छ । समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा बैंक ट्रान्सफरमार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ भने चेकमार्फत भए बैंकमा जम्मा गर्न नसक्ने अवस्थामा पोखराका लागि विकास ९८०१९३५६६६ र काठमाडौंका लागि भए डिके सिंहलाई ९८५११२५९३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ । तर नगद संकलनलाई भने निरुत्साहित गरिएको कोषाध्यक्ष पौडेलले बताए ।

समितिले आईसियू स्थापनाका लागि सञ्चालित अभियानमा सहभागि मध्ये ५० हजार भन्दा बढी दान गर्ने दाताहरुलाई सार्वजनिक सञ्चारमाध्यममार्फत उच्च सम्मानका साथ नाम सार्वजनिक गरिने अभियानका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

समितिले अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्ने अभियान सफलतापूर्वक सम्पन्न भएमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुविधा सम्पन्न अस्पतालको रुपमा विकास हुने र कसैलेपनि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने स्थिति निर्माण हुने विश्वास लिएको श्रेष्ठले बताए ।

स्थापना गर्नका लागि समिति गठन भएको छ । नागरिक स्तरबाट आर्थिक संकलन गरेर बृहद अक्सिजन प्लान्ट स्थापना गर्नका लागि

गण्डकी प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि गठन गरिएको अक्सिजन प्लान्ट निर्माण समितिको कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष नारायण पौडेल रहेका छन् भने सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे , एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र सेलवेज डिपार्टमेन्टल स्टोर्स प्रालिका अध्यक्ष सुशीलमान प्रधानाङ्ग रहेका छन् । समितिको संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेका छन् ।

अक्सिजन प्लान्ट निर्माणलाई विधिसम्मत ढंगले अगाडि बढाउन समिति गठन गरिएको जनाइएको छ । यो समितिले अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग रकम जुटाउनुका साथै प्लान्ट स्थापना सम्बन्धी कार्य अघि बढाउने अध्यक्ष आनन्दराज बतासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

५ करोड लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुने र यो दैनिक १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने जनाइएको छ ।

प्लान्ट स्थापनाका लागि ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान सञ्चालन गरिदै आएको छ । जसमा हालसम्म ३ करोड ३३ लाख ६९ हजार ५१ रुपैयाँ घोषणा भइसकेको र त्यसमध्ये १ करोड ५१ लख ७ हजार ६ सय ४० रुपैयाँ जम्मा भइसकेको अभियानका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्लान्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने उनले बताए । समितिले अक्सिजन प्लान्ट स्थापनाका लागि कम्पनी (भेण्डर) छनौट गर्दै प्लान्ट निर्धारित समयमा द्रुत मार्गबाट पारदर्शी रुपमा गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको जीवन बचाउने अभियानमा सहभागि हुन अपिल गरेको छ ।

अक्सिजन अभावमा नागरिकको ज्यान जान थालेपछि शुरु गरिएको यस अभियानबाट अक्सिजन प्लान्ट स्थापना भएमा अक्सिजनकै अभावमा कसैलेपनि जीवन गुमाउनुपर्ने छैन भन्ने अपेक्षा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।