फेवाताल पोखराको मात्रै नभई गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । पोखरा आएका लगभग शतप्रतिशत पर्यटक फेवाताल पुग्छन् । त्यसमध्ये अधिकांशले डुंगा सयर गर्छन् । कतिपयले डुंगा व्यवसाय गरेरै अर्थोपार्जन राम्रै गरेका छन् । फेवाताल छ र त्यहाँ डुंगा चलेकैले पोखराको लेकसाईडमा पर्यटकको चहलपहल बाक्लो हुन्छ । अझ भनौं फेवाताल हेर्न र त्यहाँ डुंगा सयर गर्न आएका पर्यटककै कारण पोखराको पर्यटन धानिएको छ भन्दा अत्यूक्ति नहोला । जसका कारण पोखरेली पर्यटन व्यवसायीले राम्रै आम्दानी गरेको ऐनाजस्तै छर्लङ्ग छ ।
तर तीनै पर्यटकलाई डुंगा सयर गराएर फेवातालको रस्वादन गराउने डुंगा चालक आज भोकाएका छन् । पर्यटनको जग फेवातालमा डुंगा खियाउने तिनै चालक आज विहान बेलुकीको छाक टार्न सहयोगको याचना गरिरहेका छन् । हिजो कोरोना महामारीको शुरुवातको समयमा डुंगा व्यवसायी समिति, पोखरेली पर्यटनसँग सम्बन्धित संघसंस्थादेखि विदेशीसम्मले उनीहरुलाई सहयोग नगरेका होइनन् ।
तर कोरोना महामारी बढ्दै जाँदा सहयोगी हातहरु ठप्प भएका छन् । महामारी शुरु भएको १४ महिना बितिसक्दापनि पोखरामा पर्यटक आएनन् । पर्यटक नै नआएपछि डुंगा चल्ने कुरै भएन । डुंगा नचलेपछि डुंगा चालकको आम्दानी हुने कुरै भएन । जसका कारण आज उनीहरुको चुल्हो बल्न मुश्किल भएको छ । डुंगा चालक मिलन परियार डुंगा नचल्दा आफूहरुको चुल्हो बल्नै बन्द हुने अवस्थामा पुगेको बताउँछन् । ‘हो हामी अहिले समस्यामा छौं, हामीलाई अहिले सहयोगको खाँचो छ’–उनले भने । उनले सहयोगको याचना धेरै ठाउँमा गरेका छन् । तर सहयोग कमैले मात्र गरेका छन् ।
यहि बिचमा उनले पोखराको एभरेस्ट एफएममा समेत फोन गरेर सहयोगका लागि आग्रह गरे । एभरेस्ट एफएमको विहानीमूलक कार्यक्रम ‘पेटबोली’मा फोन गरेर उनले गरेको आग्रह अनुसार एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले ईनिसियसन लिए । जसमा दिटीका ईन्टरनेसनल प्रालिकी सञ्चालिका तथा समाजसेवी टीकाकुमारी गुरुङ र समाजसेवी शिवबहादुर बानिया सहयोग गर्न तयार भए ।
दिटीका ईन्टरनेसनल प्रालिकी सञ्चालिका तथा समाजसेवी टीकाकुमारी गुरुङको ३५ हजार ५ सय र समाजसेवी शिबबहादुर बानियाको १२ हजार गरि कुल ४७ हजार ५ सयको सहयोगमा फेवातालका डुंगा चालक २५ जनालाई राहत वितरण गरिएको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । डुंगा चालकहरुलाई राहत वितरणका लागि सामुदायिक प्रहरी सेवा केन्द्र बैदामकी पूर्व अध्यक्ष तथा समाजसेवी हिरु पुनले समन्वय गरेको उनले बताए । उनका अनुसार डुंगा चालकहरुलाई २० केजी चामल, २ केजी दाल, तेल, बेसार, नुनलगायतका रु १ हजार ९ सय रुपैयाको सामग्री प्याकेज बनाएर प्रदान गरिएको छ ।
राहत प्राप्त गर्ने डुंगा चालकहरुमा सूर्य परियार, रोहित बानिया, गणेश नेपाली, मिलन परियार, दीलिप गुरुङ, प्रसाद थापा, अनिष परियार, यम पुन, मगर दाई, दीपेन्द्र परियार, बिनु परियार, सुजन परियार, विकास परियार, सन्तोष थापा, दीपक परियार, सुदेश थापा, अमृत पौडेल, राम परियार (रोनो), कुमार परियार, रोहित राई, कुष्ण परियार, सन्तोष परियार, कृष्ण बानिया, सूर्यमान, सन्तोष र सरोज रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







