आज चण्डी पूर्णिमा अर्थात ‘उभौली’ पर्व पनि


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित




तस्बीरः रासस/फाइल फोटो

आज, वैशाख शुक्ल पूर्णिमाको दिन। अर्थात, बुद्ध पूर्णिमाको दिन। यस दिन अर्को पर्व ‘उभौली’ पर्व पनि विशेष महत्वका साथ मनाइन्छ।

नेपालका किराँत समुदायभित्रका विभिन्न जातजातिले विशेष महत्वका साथ ‘उभौली’ पर्व मनाउने गर्दछ।

‘उभौली’ पर्वलाई प्रकृतिपूजक वा धर्तीपूजक पर्वका रुपमा पनि लिइन्छ। जसको अर्को नाम ‘साकेला’ पर्व पनि भनिन्छ। आजको दिनदेखि ‘साकेला’ पर्व अर्थात ‘उभौली’ पर्वलाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रुपमा पनि मान्ने चलन छ। वैशाख शुक्ल पूर्णिमादेखि यो पर्व एक महिनासम्म मनाइन्छ।

यस ‘उभौली’ पर्वलाई कृषियुग सुरु भएदेखि नै किराँत समुदायले मनाउँदै आएको हो। हरेक वर्ष, यो पर्व सुरु भएको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ। ‘चण्डी नाच’ द्वारा प्रकृतिको आराधना गरिन्छ। यसरी ‘चण्डी नाच’ भएकोले यस पर्वको पहिलो दिनलाई ‘चण्डी पूर्णिमा’ पनि भन्ने गरिन्छ। यो पर्व हरेक वर्षको वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध पूर्णिमाको दिन पर्दछ।

किराँत समुदायले यस पर्वलाई ‘सुम्निमा’ अर्थात देवी पार्वतीको सृष्टि भएको दिनका रुपमा लिने चलन छ। यसै कारणले सांस्कृतिक रुपमा किराँत समुदायमा यो पर्व विशेष महत्वको रहेको छ। किराँत समुदायभित्रका चाम्लिङ, बान्तवा, सुनुवार, राई, याक्खा, लिम्बु लगायतका जातिहरुले यस ‘उभौली’ पर्वलाई महान चाडका रुपमा मनाउँदै आएका छन्।

बालीनाली रोप्ने लगाउने कार्यको यामलाई किराँतहरुले ‘उभौली’ र बालीहरु घरभित्र भित्राउने यामलाई ‘उधौली’ मान्दछन्। यि दुबै याममा किराँत समुदायले प्रकृतिको पूजा–आजा गरी यो ‘उभौली’ पर्व मनाउने प्रचलन छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।