विश्वशान्ति र मानवकल्याणका लागि बुद्धका सन्देश अनुकरणीय छ : प्रदेश प्रमुख पौडेल


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित




पोखरा। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताएकी छिन् ।

दुई हजार ५६५ औंँ बुद्धजयन्तीका अवसरमा दिएको शुभकामना सन्देशमा प्रमुख पौडेलले सम्पूर्णको सुख, शान्ति र समृद्धिको कामना गर्दै शाक्यमुनि बुद्धले अंगीकार गरेको शान्ति, अहिंसा र मानवकल्याणको मार्ग अनुसरण गर्न सके मानिस दुःखी हुन नपर्ने विचार व्यक्त गरेकी छिन् ।

शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिएका राष्ट्रिय विभूति गौतमबुद्ध नेपालका मात्रै नभई महामानवका रुपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उनले देखाएको शान्ति, अहिंसा र मानव कल्याणका मार्गमा लाग्न तथा सकारात्मक सोचको विकास गर्न आग्रह गरिएको छ ।

आज कोरोना भाइरसको विश्व महामारीसँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा बुद्धको दुःखसम्बन्धी चतुर्आर्य सिद्धान्तले दिने सन्देशमा जनाइएको छ ।प्रदेश प्रमुखले आजकै दिन परेको किराँत राई, याक्खा, सुनवार र लिम्बू समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् । कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर धर्म, संस्कार संस्कृति र चाडपर्व मनाउन पनि प्रदेश प्रमुख पौडेलले आग्रह गरेकी छिन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।