निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाट कोरोना खोप खरिद गर्न मिल्ने बनाउः सांसद कोइराला


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोरोना विरुद्धको खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन् । कास्की क्षेत्रनं १(१)बाट निर्वाचित प्रदेश सांसद कोइरालाले वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टिने बजेटलाई कोरोना विरुद्धको खोप खरिदमा प्रयोग गर्न मिल्ने बनाउन प्रदेश सरकारलाई सुझाव दिएका हुन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा आफ्नो धारणा राख्दै अर्थ तथा विकास समितिका सभापति कोइरालाले भने,‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट साढे २ करोडबाट बढाएर ५ करोड पु¥याउनुपर्छ, र त्यो बजेट कोरोना विरुद्धको खोप खरिद गर्न मिल्ने बनाउनुपर्छ ।’ त्यसो गरेमा जनतालाई कोरोनाबाट जोगाउन सकिने उनको भनाई थियो ।

बैठकमा बोल्दै सांसद कोइरालाले मितव्ययी सरकार भनेर भाषण गर्ने मुख्यमन्त्रीले अनावश्यक मन्त्रालय थप्दै गएर प्रदेशको आम्दानी बृद्धि भन्दा फजुल खर्च गर्न तल्लिन रहेको आरोप लगाए । ‘सत्ता जोगाउन राजनीतिक वेइमानी गर्दै खर्च बढाइएको छ, यसले प्रदेशलाई खोक्रो बनाउनुबाहेक कसैलाई हित गर्दैन’–उनले भने । उनले सरकारले ३ वर्षमा आम्दानीको श्रोत खोज्ने, विकास र समृद्धिका लागि कार्य गर्ने र कोरोनाले आहत गण्डकीबासीलाई राहत दिनुको सट्टा सरकार सत्ता टिकाउन मात्र उद्यत रहेको उनको आरोप छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।