विश्वकप छनोट: इन्डियामाथि कतारको जित


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित




फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इन्डिया पराजित भएको छ।

कतारको दोहास्थित जसिम बिन हमद रंगशालामा सम्पन्न फुटबल खेलमा कतारले लगातार दबाब बनाउँदै १–० गोलको जित निकालेको हो।

खेलको ३३ औं मिनेटमै कतारका ए. हातेमले गोल गरेपछि घरेलु टिमले अग्रता बनाएको थियो। यससँगै दोस्रो हाफमा कुनै गोल नभएपछि एक गोलको अग्रताका साथ कतारले खेल जितेको छ।

त्यस्तै विश्वकप छनोटका अन्य खेलहरुमा नेपालको समूहमा रहेको अष्ट्रेलियाले घरेलु मैदानमा कुवेतलाई ३–० गोलको हार चखाएको छ।

बंगलादेश र अफगानिस्तानले १–१ को बराबरी खेलेका छन्। त्यस्तै इरानले हङकङमाथि ३–१ को जित निकालेको छ। बहराइनले कम्बोडियालाई ८–० को गोल अन्तरले पराजित गरेको छ।

त्यस्तै, युनाइटेड अरब इमिरेट्सले पनि मलेसियामाथि ४–० गोलको सहज जित निकालेको छ। थाइल्यान्ड र इन्डोनेसियाले २–२ गोलको बराबरी खेलेका छन्। प्यालेस्टाइनले सिंगापुरलाई ४–० को फरक गोल अन्तरले हराएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।