वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन


     रासस    
     जेठ २१ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।


प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका थिए ।

नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था छ । इजलास सञ्चालन गर्न संविधानले सर्वोच्च अदालतलाई अधिकार दिएको छ ।

संवैधानिक इजलास गठन भएलगत्तै आज नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ सो अध्यादेश जारी गरेका थिए। अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।