तस्बीरः एन्फा
फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग राति ९ः४५ बजेबाट खेल्नेछ।
नेपालले सोमबार तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध जारी विश्वकप छनोटमा दोस्रो पटक प्रतिस्पर्धा गर्दै छ। जोर्डनकै घरेलु मैदानमा भएको अवे खेलमा ३–० ले पराजित भएको नेपालका लागि यो होम खेल हुनु पर्ने हो। तर, कोरोना महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा प्रतिस्पर्धा गर्दा मौसम नेपालका लागिभन्दा जोर्डनका लागि नै अनुकूल हुने अनुमान छ। तर, नेपालले आत्मविश्वासका साथ जोर्डनलाई कडा टक्कर दिने प्रशिक्षक र खेलाडीहरुले बताउँदै आएका छन्।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ। जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ।
नेपालले जोर्डनविरुद्ध हालसम्म ३ पटक खेलेको छ। तर, जोर्डनसँगको हालसम्मको खेलमा नेपालको नतिजा भने सुखद छैन। नेपालले जोर्डनविरुद्ध २ खेल गुमाएको छ। एक खेल भने बराबरी खेलेको छ।
यसअघि, पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो। विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो। जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान १/१ गोल गरेका थिए।
त्यसअघि, विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो। जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० को फरक गोल अन्तरले नराम्ररी पराजित भएको थियो। त्यस खेलमा जोर्डनका हसन अब्देल फाथ एक्लैले ४ गोल गरेका थिए ।
तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो। त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा थियो। दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो। जोर्डनका अल मुर्जनले गोल गरेका थिए।
जित निकाल्छौँ, इतिहाँस बदल्छौँः प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन्।
‘हरेक खेल शून्यबाट सुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ। हाम्रो लक्ष्य सुरुबाट खेल जित्नेछ,’ प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले भनेका छन्, ‘हाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो। यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ।’
अघिल्लो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने प्रशिक्षक अलमुताइरीले दाबी गरेका छन्।
‘हामीले जोर्डनका लागि त्यतिनै तयारी गरेका छौं। जति ताइपेईविरुद्ध गरेको थियौं,’ उनले भनेका छन् ।
अलमुताइरीले थपेका छन्, ‘हामीले म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं, त्यसैले नेपालले जोर्डनलाई हराउन नसक्ने भन्ने हुन्न । जोर्डन बलियो टोली हो तर हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट पर्याप्त मिहिनेत गरिरहेका छौं।’
प्रशिक्षक अलमुताइरीले खेलका लागि खेलाडीको आत्माविश्वास बलियो भएका कारण आफूलाई विश्वास बढेको बताएका छन्।
उनले भनेका छन्, ‘खेलाडीको मानसिकता बदलिएको छ। खेलाडीहरु उच्च आत्माविश्वासका साथमा खेल्नेछन्।’
ग्रिसले सन् २००४ मा युरो जित्ने कसैले नसोचेको तर सम्भव बनाएर देखाएको उदाहरण प्रशिक्षक अलमुताइरीले दिएका छन्।
जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ। जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताएका छन्। ‘सबैको अपेक्षा छ, हामीले ३ अंक लिन्छौ भनेर तर फुटबलमा जे पनि संभव हुन्छ। मैले नेपालले ईराक र ताइपेईविरुद्ध खेलेको हेरेको छु। तर, उनीको स्तर र खेल्ने शैली पूरै परिवर्तन भएको छ,’ बाइटलले भनेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







