सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह


     रासस    
     जेठ २६ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका हुन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

उनले आज वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् । उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको बताए ।

महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको र पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति उचित नभएको उनले उल्लेख गरे ।

“महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । हामीसँग अब बढी समय छैन । असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ”, विज्ञप्तिमा उल्लेख छ ।

त्यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको अवगत गराउँदै उनले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताए ।

सभापति देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्य, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेशस्थित जनसम्पर्क समितिका सदस्यलाई कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । उनले कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।