३१ सांसदको हस्ताक्षरसहित बिपक्षी गठबन्धनले धारा ६८ (५) बमोजिम वैकल्पिक सरकारको दाबी गर्दै


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशमा बिपक्षी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त रुपमा बनेको बिपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैकल्पिक सरकारका लागि दाबी प्रस्तुत गर्ने भएको हो ।

६० सदस्य रहेको प्रदेश सभामा रहेको ३१ प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखको जान लागिएको नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामजीप्रसाद बरालले जानकारी दिए । अहिले ५ बजे प्रदेश प्रमुखलाई भेटेर हस्ताक्षर बुझाउँदै मुख्यमन्त्रीमा नियुक्तीका लागि आग्रह गरिने उनले बताए ।

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गरेपछि ३० मतले नै बहुमत पुग्ने भएपनि राजिव गुरुङ उर्फ दीपक मनाङेको सहित ३१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नका लागि जान लागिएको उनले बताए । नेपालीलाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, जनमोर्चाका २ र स्वतन्त्र सांसद राजिव गुरुङले हस्ताक्षर गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।