मुख्यमन्त्रीका लागिा दावी गर्दै विपक्षी गठबन्धनका बहुमत सांसदले बुझाए हस्ताक्षर


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने पक्का भएको छ । प्रदेशमा बिपक्षी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त रुपमा बनेको बिपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैकल्पिक सरकारका लागि दाबी प्रस्तुत गरेको हो ।

६० सदस्य रहेको प्रदेश सभामा रहेको ३१ प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख सीता पौडेलकोमा पुगेर दाबी प्रस्तुत गरेको हो ।

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गरेपछि ३० मतले नै बहुमत पुग्ने भएपनि राजिव गुरुङ उर्फ दीपक मनाङेको सहित ३१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरिएको मुख्यमन्त्रीमा प्रस्तावित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । नेपालीलाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, जनमोर्चाका २ र स्वतन्त्र सांसद राजिव गुरुङले हस्ताक्षर गरेका छन् ।

दाबी प्रस्तुतका लागि नेपालीलाई मुख्यमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने ३१ सांसद नै शशरिर प्रदेश प्रमुखकोमा पुगेका थिए । त्यहाँ उनीहरुले प्रदेश प्रमुखकै अगाडि सनाखत गराउन आग्रह गरेपछि प्रदेश प्रमुखको कार्यालयले त्यसको ब्यबस्था गरेको थियो । ‘हाम्रो आग्रहलाई प्रदेश प्रमुखले स्वीकार्दै सनाखतको ब्यबस्था गरिदियो र शशरिर पुगेका हामीले सनाखतका लागि हस्ताक्षर ग¥यौं’–नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामजीप्रसाद बरालले भने ।

दाबीसहितको हस्ताक्षर बुझाएपछि आफूहरुले प्रक्रिया पु¥याएर दाबी प्रस्तुत गरेकाले मुख्यमन्त्रीमा नियुक्त गर्न आग्रह गरेको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । जवाफमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूले अध्ययन गरेर प्रावधान र प्रक्रिया अनुसार निर्णय गर्ने बताएको उनले जानकारी दिए ।

यसैबीच, सनाखतको एक प्रति बिपक्षी गठबन्धनले मागेर राखेका छन् । शुरुमा सनाखतको प्रति दिन नमिल्ने बताएको प्रदेश प्रमुखको कार्यालयले बिपक्षी गठबन्धनका सांसदहरु धर्नामा बसेपछि भने सनाखतको प्रति बुझाउन बाध्य भएको थियो । ‘रात रहे अग्राख पलाउनसक्ने भएकाले सनाखतको एक प्रति मागेका थियौं, तर दिन मिल्दैन भनेपनि हामी धर्नामा बसेपछि ल्याएर दिए’–एक सांसदले भने ।

नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाएका सबै सांसद पोखराको एक रिसोर्टमा बसेका छन् । विश्वासको मत गुमाएपनि विघटनको रणनीतिमा रहेको एमालेले चलखेल गर्नसक्ने भन्दै हस्ताक्षर गरेका सबै सांसदलाई पोखराको एक रिसोर्टमा राखिएको श्रोतले दाबी गरेको छ । यसअघी संविधानको धारा १६८ को उपधारा ३ अनुसारको सरकार गठनका लागि जनमोर्चाका खिमविक्रम शाहीले हस्ताक्षर गरेपनि पछि विज्ञप्ती निकालेर नक्कली हस्ताक्षर गरेर प्रदेश प्रमुखकोमा बुझाएको भन्दै विज्ञप्ती जारी भएको थियो । ‘सोहि खालको चलखेल फेरिपनि नहोस् भनेर हामी रिसोर्टमा छुट्टै बसेका हौं’सोहि रिसोर्टमा बसेका एक सांसदले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।