नेपाली फुटबल टोली आज कुवेतबाट स्वदेश फर्कदैँ


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको टिम आइबार स्वदेश फर्कदैँ छ।

२३ जना खेलाडी र १२ जना अफिसियलसहित गएको नेपाली टिम कुवेतबाट शनिबार राति नै स्वदेश फर्किएको हो। कुवेतबाट स्वदेश फर्किएको टोली कतारको दोहा हुँदै काठमाडौं विमानस्थलमा भने आज (आइतबार) बेलुका आइपुग्ने जनाइएको छ।

कोरोना महामारीका कारण एएफसीले न्यूट्रल भेन्यूका रुपमा कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले ३ खेल सकेर स्वदेश फर्किएको हो। दशरथ रंगशालामा हुनुपर्ने खेल नेपालमा पनि कोरोना महामारी बढेपछि त्यता सारिएको हो।

नेपालले खेलेको ३ वटा छनोट चरणका खेलमध्ये एक खेलमा जित र बाँकी दुई खेलमा पराजय भोगेको छ। नेपाली टोलीले इराकमा घरेलु टोलीसँग एक मैत्रीपूर्ण खेल समेत खेलेको थियो। बलियो घरेलु टोली इराकसँगको खेलमा नेपालले ६–१ को हार ब्यहोरेको थियो।

त्यसपछि कुवेत गएको नेपाली टिमले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६ अंक बनाउन सफल भयो। त्यसपछि, जोर्डन र अस्ट्रेलियासँग नेपाली टिमले समान ३–० गोल अन्तरले पराजित बन्यो।

विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एशियन कपको छनोटका लागि प्ले–अफ खेल्ने संभावना भने जीवित नै राखेको छ। त्यसका लागि अहिले अन्य टिमहरुको पनि समूह चरणको खेल सकिनु पर्नेछ। त्यसपछि मात्रै प्ले–अफ पुग्ने या नपुग्ने टुंगो पनि लाग्नेछ।

नेपाली फुटबल टिमको प्रशिक्षकमा कतारका अब्दुल्लाह अल्मुताइरी आएका हुन्। अलमुताइरी आएपछि पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको प्रदर्शन भने उनको मुल्यांकनमा उत्कृष्ट नै रह्यो। लामोसमयदेखि गोलको खडेरी रहेको नेपाली टिमले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै भविष्यका लागि राम्रो शंकेत गरेको प्रशिक्षक अलमुताइरीले दाबी गर्छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।