युरोकपमा क्रिस्टियानो रोनाल्डोको २ कीर्तिमान


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

युरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले २ नयाँ कीर्तिमान बनाउन सफल भएका छन्।

मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बन्दा राोनाल्डोले २ कीर्तिमान भंग गरेका छन्।

योसँगै रोनाल्डो युरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १० औँ र ११ औँ गोल गरेका छन्। पोर्चुगललाई जित दिलाउन अर्को एक गोल राफायल गुरेरोले गोल गरेका थिए।

२ गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन्। रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ। देइले १०९ गोल गरेका छन्।

त्यस्तै, रोनाल्डो ५ वटा युरोपियन च्याम्पियनसीप खेल्ने पहिलो खेलाडी पनि बनेका छन्। बुडापेस्टमा भएको खेलमा सुरुवात गर्दै रोनाल्डोले यो कीर्तिमान पनि बनाएका हुन्। सन् २००४ मा उनले पहिलोपटक प्रतियोगितामा भाग लिएका थिए। त्यसयता उनले २००८, २०१२ र २०१६ को युरो कपमा पनि भाग लिएका थिए। उनले सबै संस्करणमा गोल पनि गर्दै आएका छन्।

रोनाल्डोले मात्र होइन पोर्चुगलले पनि खेलमा कीर्तिमान बनाउन सफल भएको छ। पाोर्चुगलले खेलको ८४, ८७ र ९०+२ मिनेटमा गोल गरेको थियो। यूरोमा अन्तिम १० मिनेटमा ३ गोल गर्ने पोर्चुगल पहिलो टोली बनेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।