सोमालियामा आत्मघाती आक्रमण, १५ सैनिकको मृत्यु


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरी प्रवक्ता सदिक अलि अडेनले विस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिए।

शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ। यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग गरिरहेको छ।

घटना लगत्तै सबै मृतक एवं घाइतेलाई मेडिना अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। उनीहरुको भनाइमा कम्तीमा १४ जनाको अवस्था निकै नाजूक छ। आफन्तहरु आक्रमणको शिकार भएको आशंकामा सयौं व्यक्ति अस्पताल परिसरमा भेला भएका थिए।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।