बागलुङ। ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।
लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । सुल्डाँडास्थित ट्याङ्कीछेउ पनि पहिरा खस्दा पाँच पाइपमा क्षति पुगेको छ । बोक्सेलगायत अन्य कैँयन ठाउँमा खानेपानीका पाइपमा क्षति पुगेको जनाइएको छ । “आयोजनामा ठूलो क्षति र अवरोध पुगेको छ, खानेपानीको सहज आपूर्ति हुन हप्ता दिन जति लाग्छ”, प्रबन्धक शर्माले भने ।
क्षति पुगेका ठाउँमा संस्थाका प्राविधिक र कर्मचारी मर्मतका लागि खटिइसकेको उनको भनाइ छ । पहिराको जोखिमका कारण बागलुङ नगरपालिका–३ मा निर्माणाधीन ‘लिफ्टिङ’ आयोजना पनि प्रभावित बनेको छ । शनिबारदेखि जारी वर्षाका कारण जिल्लाभर बाढीपहिराका घटना बढेका छन् । पहिराको जोखिमले दर्जनौँ परिवार विस्थापनमा परेका छन् ।
कतै धनमाल त कतै पशुचौपाया पहिरामा पुरिएका छन् । विस्थापित छिमेकीकहाँ आश्रय लिइरहेका छन् । ठूलादेखि ग्रामीण भेगसम्मका सडक मार्गलाई पहिराले क्षतविक्षत तुल्याएको छ। कालिगण्डकी करिडोरअन्तर्गत मालढुङ्गामा रहेको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । त्यसका कारण जिल्लाको दक्षिण भेगसँग सडक सम्पर्क टुटेको छ । खोलानाला बढेकाले पैदल आउजाउ गर्न पनि सहज छैन । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







