एउटै बस्तीमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि पर्वतको भोर्ले एक हप्ताका लागि सिल


     एभरेस्ट आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित




पर्वत । पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो ।

पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साबिक भोर्ले गाविस–४ र ५ क्षेत्रमा पर्ने हिले गाउँको पूर्वमा तुलसीखर्क वन, भूमिचोक, पश्चिममा स्वामीडाँडा, भुवनगैरा, उत्तरमा स्वामिडाँडा, भोर्लेखोला, खरिबोट, दक्षिणमा अमलपोखरी, आङमाङ तथा खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको हो ।

उक्त क्षेत्रका नागरिक एक सातासम्म अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्ने, बाहिरी क्षेत्रबाट उक्त गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, दमकल शववाहन तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनबाहेक अन्य सवारीसाधनहरू उक्त क्षेत्रमा सञ्चालन नगर्न प्रशासनले आदेश दिएको छ ।

उक्त आदेशको अवज्ञा गरे कानूनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । मङ्गलबार गरिएको परीक्षणमा एउटै बस्तीमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि गाउँ सिल गरिएको पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । उनले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएकोसमेत बताए । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।