क्रिस्टियानो रोनाल्डोले बनाए युरोकप फुटबलबाट अर्को कीर्तिमान


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।

रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन्।

फ्रान्सविरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यसअघि, विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए। जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा छन्। ३६ वर्षीय रोनाल्डोले युरोकपमा १३ र विश्वकपमा ७ गोल गरेका छन्।

रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन्। यस संस्करणको युरोकपसँगै ३६ वर्षीय रोनाल्डोको नाममा ५ संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत रहेको छ।

रोनाल्डोले यसअघि ४ संस्करणको युरोकप खेलिसकेका छन्। योसँगै उनी लगातार ५ संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।