पोखरा महानगरको बजेट सवा ६ अर्ब


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




पोखरा । देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सवा ६ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

महानगरको नवौं नगरसभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/ ७९ का लागि ६ अर्ब २७ करोड ७५ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको भन्दा ९३ करोड ३ लाख २२ हजारले कम हो ।

महानगरले ल्याएको आगामी आर्थिक वर्षको बजेट १ अर्ब ३ करोड ७५ लाख ९२ हजार घाटा बजेट हो । जुन घाटा बजेट सञ्चित मौज्दात र चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उपप्रमुख गुरुङले उल्लेख गरिन् ।

महानगरले कुल बजेटको चालु खर्चतर्फ २ अर्ब ९० करोड ९४ लाख अर्थात ४६.४ प्रतिशत, पुँजीगततर्फ ३ अर्ब ३६ करोड ८० लाख अर्थात ५३.६ प्रतिशत बजेट विनियोजन गरेको छ ।

महानगरको कुल बजेट मध्ये संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १.५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोर्ने जनाएको छ ।

महानगरले कार्यालय खर्चतर्फ ८८ करोड ८६ लाख अर्थात १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार अर्थात २२.७५ प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात २.३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख अर्थात ६.४ प्रतिशत विनियोजन गरेको छ ।

त्यस्तै, महानगरले वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६.६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५.७ प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रस्तुत बजेटको खर्च बेहोर्ने श्रोतमध्ये संघीय सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १.५ प्रतिशत, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लख ५४ हजार अर्थात ५ प्रतिशत, गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत र आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत ब्यहोरिने उपप्रमुख गुरुङले बताईन् ।

नेपालकै नमूना सडकका रुपमा निर्माण गर्न लागिएको लेखनाथको तालचोक–बेगनास सडकका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । विश्व बैंकको आर्थिक सहयोगमा बन्ने यो सडक निर्माणको लागि १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ । ‘विकटलाई निकट’ ल्याउने अठोटका साथ संचालित कनेक्टिङ सडक योजनाहरु आगामी आर्थिक वर्षमा पनि उच्च प्राथमिकतामा राख्दै यसका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।

यस योजना अन्तर्गत विजयपुर–माझठाना–बेगनास सडक, कात्रे–बाम्दी–घाँटीछिना सडक, बैदाम–पामे–घाँटीछिना सडक, कास्कीकोट गुन्टेचौर, वनपाले पँदेली कृषि सडक, चितेपानी पुरुञ्चौर रैकर ढाब मर्दी सडक, ठूल्ढुंगा सुर्ताने चैनपुर सुरौंदी सडक, पानी टंकी देउराली भञ्झ्याङ सडक, रैकर बेगनास सडक, भलाम–मौजा सडक, आदि कनेक्टिङ सडकहरु प्राथमिकतामा राखिएको उपप्रमुख गुरुङले बताइन् ।

यसैगरी काहुँखोला पहिरो पानी सडक, खत्रीपहरो खोलावेशी सडक, जनचेतन चिलाउने खर्क, बास्कोट वडा कार्यालय सडक, वडा कार्यालय २२ देखि भुम्दीहुँदै तारेभीर, राधाकृष्ण मार्गहुँदै तिनकुने सडक प्राथमिकता छन् ।

उक्त सडकहरुले पोखराको ग्रामीण भूगोललाई सहरको केन्द्र सम्म, यसैगरी कास्कीका अन्य गाउँपालिकाहरु तथा छिमेकी जिल्लाहरुलाई पोखराको मुख्यबजार क्षेत्र सम्म जोड्न रक्त सञ्चारको काम गर्नेछ ।

पोखरा महानगरपालिकाले सहरी सडकमा अस्फाल्ट पिच गर्नका लागि ७ करोड विनियोजन गरेको छ । अस्फाल्ट गरिएका सडक कम्तिमा पनि २ वर्ष खन्न स्वीकृति नदिइने जनाइको छ ।

महानगर र उपभोक्ताबीचको सहकार्यमा ‘हामी बनाउँछौं हाम्रो महानगर’ भन्ने नाराका साथ सञ्चालन गरिने सडक निर्माणका लागि १० करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा समग्रमा भवन निर्माणतर्फ रु. ३० करोड बजेट विनियोजन गरिएको छ ।

महानगरले जापान सरकारको सहयोग निकाय, जाइका नेपालको सहयोग तथा खानेपानी विभागको समन्वयमा पोखराको ढल व्यवस्थापन गुरु योजना तर्जुमाका लागि बजेट विनियोजन गरेको जनाएको छ । महानगरले एक घर, एक धारा कार्यक्रमलगायत समग्र खानेपानी आयोजनाहरुको कार्यान्वयनको लागि ११ करोड ६३ लाख बजेट विनियोजन गरेको छ ।

महानगरले ‘हाम्रो पोखरा, उज्यालो पोखरा’ अभियानलाई सफल बनाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा कोर सिटीमा सडक बत्तीको व्यवस्थापन गर्ने कार्यको थालनी गरिसकेको जनाएको छ ।

जसका लागि कुल १३ करोड पर्ने भएपनि विद्युत र महानगरपालिकाले आधा आधार बेहोर्ने सहमति अनुसार महानगरको तर्फबाट ५० प्रतिशत लागत व्यहोरिने गर६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् ।

महानगरले अस्फाल्ट प्रविधिबाट गरिएको पिच सडक आवश्यकता अनुसार पखाल्न मिल्ने गरी कष्टमाइज गरिएको एक थान सवारी साधन र सोही सडक सफा गर्न १ थान ब्रुमर खरिद गर्न २ करोड ५० लाख बजेट प्रस्ताव विनियोजन गरेको छ । महानगरले जलकुम्भी हटाउन खरिद गरिएको साधनको आवधिक मर्मत संभार गर्नका लागिपनि बजेट छुट्याएको छ ।

महानगरपालिकाले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रि विमानस्थललाई असर गर्ने हालको ल्याण्डफिल साइडको विकल्पमा नया फोहोर व्यवस्थापन र वैकल्पिक ल्यान्डफिलका लागि आवश्यक पर्ने जमिन खरिदका लागि ८ करोड विनियोजन गरेको छ ।

सो रकम विमानस्थल तत्काल सञ्चालनमा ल्याई हाल्नुपर्ने स्थितिमा वैकल्पिक ल्याण्डफिल साईड सञ्चालनका लागि पनि खर्च गर्न सकिने बजेटमा उल्लेख छ ।

महानगरले अग्नी नियन्त्रणका उपकरणहरु क्रमशः पुरानो हँुदै गएर कार्यक्षमतामा ह्रास आउन थालेको भन्दै नया अत्याधुनिक अग्नी नियन्त्रणका साधन खरिद गर्न बजेट विनियोजन गरेको छ । महानगरले कोभिड–१९ नियन्त्रण, तथा अन्य प्रकोपहरु पश्चात राहत, उद्दार र मर्मत संभारको लागि परिचालन गर्ने गरिएको प्रकोप व्यवस्थापन कोषमा रु.२ करोड ५० लाख विनियोजन गरेको छ ।

महानगरले पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरि पदमार्ग निर्माण गर्न १ करोड ५० लाख विनियोजन गरेको छ । उसले आगामी आर्थिक वर्षमा पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरेको बताएको छ ।

त्यस्तै, पोखराको पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

महानगरले पोखरा २८ ठूलाकोटमा ‘अस्टोनोमी पार्क’ निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी गर्ने जनाएको छ । । पोखरा ६ मा रहेको वसुन्धरा र कामागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरले निजी क्षेत्रको समेत लगानीमा पोखरा टावर निर्माण गर्न संभाव्यता अध्ययन गर्ने भएको छ । जसका लागि १० लाख विनियोजन गरिएको छ । त्यस्तै पोखरा वडा नम्बर ४ को उपयुक्त स्थानमा ‘कोसेली घर’ निर्माण गर्ने भन्दै बजेट विनियोजन गरिएको छ ।

महानगरले कोरोना खोपका लागि भने बजेट नछुट्याएको जनाएको छ । संघ सरकारले कोभिड विरुद्धको खोप खरिदको लागि स्थानीय तहहरुले जिम्मेवारी प्रदान नगरेकाले तत्काल बजेट नछुट्याएको महानगर उपप्रमुख गुरुङले बताईन् ।

तर खोप खरिद गर्ने जिम्मेवारी प्राप्त भएमा बजेट समायोजन गरी कम्तिमा ५० हजार खोप खरिदको प्रबन्ध गर्न सक्ने गरी तयारी गरिएको उनले प्रष्ट्याईन् ।

महानगरले कोभिड–१९ नियन्त्रणको लागि आवश्यक पर्ने आइसोलेसन, पिसिआर नमूना संकलन, कोभिड अस्पतालको स्तरोन्नति तथा संचालनका लागि ३ करोड विनियोजन गरिएको छ ।

कोभिड–१९ नियन्त्रणको लागि हालै स्थापना गरिएको शिशुवा अस्पतालको कोभिड वार्ड संचालन तथा शिशुवा अस्पतालको संचालन समेतको लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ ।

कोभिडको कारण रोजगारी गुमाएकाहरुलाई लक्षित कार्यक्रम सञ्चालन गर्न कृषि र सामाजिक विकास क्षेत्रबाट २५ लाख छुट्याइएको छ ।

महानगरले आयुर्वेद तथा बैकल्पिक उपचार पद्धतिको विकास र प्रवद्र्धन गर्न ४० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै पोखरा–२३ चापाकोटमा स्वास्थ्य चौकीको भवन निर्माणको लागि १ करोड विनियोजन गरिएको छ ।

महानगरले ज्येष्ठ नागरिक लगायतले प्राप्त गर्ने भत्तामा विगत आर्थिक वर्षमा थप गरेको रकम आगामी आर्थिक वर्षमा पनि निरन्तरता प्रदान गर्न ६ करोड विनियोजन गरेको छ ।

महानगरले उपप्रमुखसँग महिला कार्यक्रमलाई थप विस्तार गर्ने तथा यसको दायरा थप फराकिलो पार्ने भन्दै यसका लागि ८ करोड विनियोजन गरेको छ । जसका लागि महानगरको तर्फबाट २ करोड थप गरिने उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।