तस्बीरः एजेन्सी
इटलीले युरो कप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम ८ मा पुगेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले १/१ गोल गरे। अस्ट्रियाका सासा कलाडिज्कले १ गोल फर्काए।
खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि, १०५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटलीलाई दोहरो अग्रता दिलाए। ११४ औं मिनेटमा अष्ट्रियाका सासाले गोल फर्काएपनि यस संस्करणको प्रिक्वार्टरफाइनल चरणसम्मको यात्रा गरेर अष्ट्रियाली टोली घर फर्कियो।
यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान समेत भंग गरेको हो। इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो। सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले त्यस यता हार व्यहोरेको छैन।
इटलीले क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ। समूह चरणमा इटलीले ३ खेलमा ९ अंक जोड्दै समूह विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणमा अस्ट्रियाले ३ खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा स्थान बनाएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







