नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न सो दिन बिहान ११ बजे बैठक डाकिएको दलका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । सो निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट दलको एकता कायम राख्ने कोशिश भइरहेको छ ।
एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने भएको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ ।
माधव नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी अध्यक्ष केपी शर्मा अोलीको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको साङ्गठनिक स्थितिका आधारमा दललाई अघि बढाउन तत्पर भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्न नमानेका कारण एकता वार्तामा थप समस्या आएको छ ।
आजको बैठकमा कोरोना महामारी नियन्त्रण तथा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताए । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







