पोखरा । मन्त्रालय बाँडफाँटलाई लिएर विवाद बढेपछि गण्डकी प्रदेश सरकारका मन्त्रीहरु राजिव गुरुङ उर्फ दीपक मनाङे र हरिशरण आचार्य फेरि बिना विभागीयमै थन्किएका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्रालय र माओवादीकी मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएपनि मन्त्रीहरु गुरुङ र आचार्य बिना विभागीयमै थन्किएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट आइतबार जारी प्रेस विज्ञप्तिमा मन्त्रीहरु खड्का र अधिकारीले जिम्मा पाएका बाहेक अन्य सबै मन्त्रालयको जिम्मा मुख्यमन्त्री पोखरेललाई नै दिइएको छ ।
सरकार गठन भएको दुई सातापछि पनि गण्डकी प्रदेशका मन्त्रीहरुको मन्त्रालय टुंगो लाग्न सकेको छैन । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री परिषद बिस्तार गरेको करीब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गर्ने तयारी गरेको उनको सचिवालयले शनिबार जनाएको थियो ।
तर, अन्तिम अवस्थामा आएर उनले मन्त्री खड्का र अधिकारीलाई मन्त्रालयको जिम्मा दिएपनि अन्य दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेबारी दिन नसकेका हुन् । अर्थ मन्त्रालय माग्दै आएका जनता समाजवादी पार्टीका आचार्यलाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने भनिएकाे थियाे । भौतिक पूर्वाधार मन्त्रालय माग्दै आएका स्वतन्त्र सांसद मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी गरिएकाे मन्त्री खड्काले शनिबार बताएका थिए । आचार्य र मनाङेले भने राेजेकाे मन्त्रालय लिने भन्दै अड्डी कसेपछि आइतबार पनि कार्यविभाजन टुंगाे नलागेकाे हाे ।
पोखरेल गत जेठ २९ गते नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन उनले आफूलाई सहयोग गर्ने दलहरुबाट एक/एक जना र स्वतन्त्र एक गरेर ५ सदस्यीय मन्त्री परिषद गठन गरेका थिए । मन्त्री परिषद गठन गरेपनि मन्त्रालय भागवण्डामा विवाद भएपछि उनले मन्त्रीहरुको कार्यविभाजन गरेका थिएनन् । मन्त्रीहरुको कार्यविभाजन गर्दा विवाद बढ्ने आंकलन गरेकै कारण सबैलाई बिना विभागीय मन्त्री बनाएका उनले मन्त्रीहरुको कार्यविभाजन अघि नै विश्वासको मत लिने योजना अनुरुप विश्वासको मत पनि लिइसकेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







