गण्डकी सरकारले गर्यो १४ करोड रकमान्तर


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित





गण्डकी प्रदेश सरकारले १४ करोड बढी रकमान्तर गरेको छ । एमाले सरकार ढालेर कांग्रेस नेतृत्वमा बनेको बिपक्षी गठबन्धन सरकारले असारमा १३० नया योजनाका लागि १४ करोड बढी रुपैयाँ रकमान्तर गरेको हो । अर्थ मन्त्रालयसमेत सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा उक्त रकम रकमान्तर भएको श्रोतले बताएको छ ।

सरकारले रकमान्तर गरेका १३० योजना मध्ये ८३ योजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका रहेका छन् । त्यसरी रकमान्तर गरिएको कार्यक्रम चालु आर्थिक वर्षको बजेटको रातो किताबमा समावेश भने छैनन् । प्रदेशको आर्थिक कार्यविधी ऐनले रातो किताब बाहिरका योजनामा रकमान्तर गर्न नपाइने व्यवस्था गरेपनि आर्थिक वर्षको अन्त्यमा सरकारले बजेट रकमान्तर गरेपछि त्यसको विरोध भएको छ । रातो कितावमा भएका योजनामा रकमान्तर गर्नैपर्ने भएपनि प्रति योजना २५ प्रतिशतसम्म मात्र रकमान्तर गर्न पाउने व्यवस्था भएपनि त्यसलाई लत्याउँदै पोखरेल नेतृत्वको सरकारले रकमान्तर गरेको पाइएको छ । सरकारले आफ्ना कार्यकर्ता पोस्न आर्थिक वर्षको अन्त्यतिर हरेक वर्ष बजेट रकमान्तर गर्नेगर्छ ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधी एवम् सामाजिक विकास मन्त्री कुमार खड्काले सरकारले बजेट रकमान्तर गरेको स्वीकारे । सरकारको निर्णयबारे जानकारी दिन मंगलबार आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै उनले भने,‘ठ्याक्कै यति नै भन्ने त भएन, तर रकमान्तर गरेको साँचो हो ।’ उनले नया सरकार आएपछि जनताको अपेक्षा धेरै भएकाले रकमान्तर गर्न बाध्य भएको बताए । ‘रकमान्तर सन्त नेता किसुनजीले पनि गर्नु भएको रहेछ, मनमोहन अधिकारी र गिरीजाबाबुलेपनि गर्नु भएको रहेछ, केपी ओली र माधव नेपालले पनि गर्नु भएको रहेछ, अनि शेरबहादुर देउवा र प्रचण्डलेपनि गर्नु भएको रहेछ, हुँदाहुँदा ३÷४ वर्ष गण्डकी सरकारको नेतृत्व गर्नुभएको पृथ्वी सुब्बा गुरुङलेपनि रकमान्तर गर्नुभएको छ रकमान्तर, हामीले सिकेको त्यहिंबाट हो ।’ उनले थपे,‘गरेको होइन भन्दैनौं हामी, गरेकै हो, सबै सरकारले गर्न पाउने, कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मात्र रकमान्तर गर्न नपाउने भन्ने न्यायसंगन हुन्न कि भन्ने लाग्छ हामीलाई ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।