युरोकप फुटबल प्रसंगः इंग्ल्याण्डका लागि गोलकीपर पिकफर्डको कीर्तिमान


     एभरेस्ट आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

इङल्यान्डका गोलकीपर जोर्डन पिकफर्डले जारी युरोकप फुटबलमा टोलीका लागि लामो समय ७ सय २६ मिनेटसम्म गोल नखाने कीर्तिमान कायम गरे।

यस पटकको युरोकप फुटबलमा पिकफर्डले इंग्ल्याण्डको पोष्टमा गोल हुन दिएनन्। तर, उनले उक्त कीर्तिमानलाई ५ मिनेटभन्दा धेरै लम्ब्याउन पाएनन्।

३० औं मिनेटमा डेनमार्कका ड्याम्सगार्डले गोल गर्नुअघि २७ वर्षीय पिकफोर्डले अन्तर्राष्ट्रिय फुटबलमा लामो समय गोल नखाने इंग्लिस गोलकीपरको कीर्तिमान आफ्नो नाममा लेखाइसकेका थिए।

खेलको २५ औं मिनेटमा आइपुग्दा पिकफर्डले कूल ७ सय २१ मिनेटसम्म गोल नखाएर गोर्डन ब्यांकसको पुरानो कीर्तिमान तोडेका थिए। ब्यांकसले १९६६ को विश्वकप जित्ने क्रममा ७ सय २० मिनेटसम्म कुनै गोल खाएका थिएनन्।

जारी युरोकपमा लामो समयसम्म गोल नखाने कीर्तिमान पनि पिकफोर्डकै नाममा रह्यो। युरोकपमा यसअघिका ५ खेलमा पिकफर्डले कुनै गोल खाएका थिएनन्। अन्तर्राष्ट्रिय फुटबलमा लामो समय गोल नखाने कीर्तिमान भने इटलीका गियानलुइगी डोनारुम्माको नाममा छ।

उनले, यही प्रतियोगिताअन्तर्गत अन्तिम १६ को खेलमा अस्ट्रियाविरुद्ध गोल खानुअघि ११ सय ६८ मिनेटसम्म गोल नखाने कीर्तिमान बनाएका थिए। यसक्रममा इटलीले ११ वटा अन्तर्राष्ट्रिय खेलमा कुनै गोल खाएको थिएन। जसमा जारी युरोकपका समूह चरणका ३ खेल पनि समावेश छन्।

इटलीकै पूर्व गोलकिपर डिनो जोफको नाममा रहेको ११ सय ४२ मिनेटसम्म गोल नखाने कीर्तिमानलाई डोनारुम्माले तोडेका हुन्। डिनो जोफले १९७२ देखि १९७४ सम्म यस्तो कीर्तिमान राखेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।