पहिराले पुरिएर महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित




दमौली। तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिए। घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् । “घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पुर्‍यो,” उनले भने, “मृतकको शव निकाल्न सकिएको छैन ।” पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् ।

उनको खोजी कार्य जारी छ । पहिराले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति ईन्द्र आलेले जानकारी दिए । उनका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् । त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिराले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरा गएका छन् भने बाटो अवरुद्ध भएका छन् ।

खोलाले बगाएर बेपत्ता

तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपालीको खोलाले बगाएर बेपत्ता भएका छन् । म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीयवासी नुत्त भुजेलले जानकारी दिए। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उनले बताए । “प्रहरी र स्थानीयवासीले उनको खोजी शुरु गरेको छ,” भुजेलले भने । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।