हर्पनखोला सिल्टेसन ड्याम भत्किएकोप्रति नागरिक निगरानी संस्थाको चासो


     एभरेस्ट आवाज    
     असार २५ गते २०७८ मा प्रकाशित




पोखरा । वर्षासंगै आएको बाढीका कारण हर्पनखोला सिल्टेसन ड्याम भत्किएको प्रति भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्थाले छानविनका लागि माग गरेको छ ।

संस्थाका अध्यक्ष रामबहादुर पौडेलले बिहीबार अख्तियार दुरुपयोग आयोग समक्ष निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै फेवातालको संरक्षणका लागि बनाइएको सिल्टेसन ड्याम भत्किएकोप्रति छिटो छरितो प्रक्रियाद्वारा छानविन गर्न माग गरेका हुन् ।

खोला क्षेत्रको भू–बनोट अनुसार गुणस्तरीय संरचना नबनेका कारण सिल्टेसन ड्याम भत्किएको भन्ने स्थानिय एवम् आम पोखरेलीहरुको साझा धारण रहिआएको भन्दै यसलाई गम्भीरताका साथ अनुसन्धान गर्न पौडेलले आग्रह गरेका छन् ।

संस्थाले भनेको छ, ‘चौतर्फी कमिसन र मिलेमतोका कारण आम नागरिकमा व्यापक नैराश्यता छाइरहेको बेला फेवातालसंग जोडिएको सार्वजनिक चासो र महत्वको विषयलाई गम्भीरतापूर्वक लिई छिटो छरितो प्रक्रियाद्वारा अनुसन्धान गरी भ्रष्टचारजन्य दण्डहिनाता अन्त्यका लागि विशेष पहल गर्न अनुरोध गर्दछौं ।’

फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रानका कारण ताल पुरिँदै गएपछि नदीजन्य पदार्थ मिसिनबाट रोक्ने उद्देश्यले प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा ड्याम तथा पोखरी निर्माण गरिएका थिए ।

फेवा जलाधार क्षेत्रका मुख्य चार नदीमा रु २८ करोड लागतमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।