तस्बीरः गुगलबाट
यो साता तेल उत्पादनको कोटाका विषयमा संसारका ठूला इन्धन उत्पादक देश संयुक्त अरब इमिरेट्स र साउदी अरबबीच मनमुटाव भएको छ।
यसको असर सबै ठूला तेल बजारमा पर्न गएको छ। र, तेलको मूल्य ६ वर्षमा सबैभन्दा बढी माथि उक्लिएको छ।
रुससमेत संलग्न रहेको पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ‘ओपेक प्लस’ले वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। यसले यो समूहको स्थिरतामाथि आशंका बढाइदिएको छ। संयुक्त अरब एमिरेट्स (युएई)ले ओपेक प्लसका नेताहरु, साउदी अरब र रुसको प्रस्ताव खारेज गरिदिएपछि यो समस्या गत साता सुरु भयो। दुवै देशले अझै ८ महिना उत्पादनसम्बन्धी प्रतिबन्ध कायमै राख्ने प्रस्ताव राखेका थिए।
तर, यूएई तेल उत्पादनको आफ्नो अहिलेको ‘आधार रेखा’माथि पुनः वार्ता गर्न चाहन्छ। उसले केही तेल उत्पादन गर्ने स्वतन्त्रता खोजेको छ। उता, साउदी र रुस भने यसविरुद्ध छन्। यो वार्ताले तब अनौठो मोड लियो, जब एकअर्काको नजिक ठानिएका साउदी र युएईका उर्जा मन्त्रीले मतभेदलाई खुलेर प्रस्तुत गरे।
वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ शोधकर्ता बेन काहिल यो टकराव अनौठो आश्चर्य मान्छन्। तर, यो झगडा अनिवार्य रहेको पनि उनको भनाइ छ।
उनी भन्छन्, ‘आबुधाबीले ओपेकबाट पाएको कोटा उसको तेल उत्पादन क्षमताअनुसार छैन। युएईले आफ्नो तेल उत्पादन क्षमता वृद्धि गर्न सारा पैसा लगानी गरेको छ र अहिले माग पनि बढिरहेको छ। यही कारण पनि यूएई पछिल्ला वर्षहरुमा उत्पादन वृद्धि गर्न नसक्दा निराश छ।’
२ राजकुमार
थुप्रै वर्षदेखि, साउदी अरब र युएईबीचको साझेदारीले अरब जगतलाई आकार दिएको छ। साउदीका युवराज मोहम्मद बिन सलमान र युएईका युवराज मोहम्मद बिन जायदबीचको व्यक्तिगत सम्बन्धले दुवै देशको गठबन्धनलाई मजबुत पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। दुवै युवराज आ–आफ्नो देशमा वास्तविक शासकका रुपमा देखिन्छन्। र, आफ्नो देशलाई लिएर दुवैको एक महत्वाकांक्षी दृष्टिकोण छ।
कयौँ वर्षसम्म, २ देशबीच सामरिक मुद्दामा गंभीर सहयोग रह्यो। उनीहरुले यमनमा इरान समर्थित हुथी विद्रोहीका विरुद्ध युद्ध लड्नका लागि २०१५ मा अरब सैन्य गठबन्धन गठन गरे र २०१७ मा कतारमाथि कूटनीतिक, व्यापारिक र यात्रामा प्रतिबन्ध लगाए।
तर, ती देशहरुबीच खाडल २ वर्षअघि देखियो, जब युएईले आफ्ना अधिकांश सैनिक यमनबाट फिर्ता लग्यो। यो कदमबाट साउदी रुष्ट थियो।
युएईले जनवरीमा मन नलाग्दा नलाग्दै पनि कतारमाथि लागेको प्रतिबन्ध समाप्त गर्न साउदीको अगुवाइमा भएको वार्तामा सहमति जनायो। तर, उसलाई दोहामाथि अहिले पनि विश्वास छैन। यसैगरी, गत वर्ष इजरायलसँग सम्बन्ध सामान्य बनाउने युएईको निर्णयसँग साउदी बिलकुल उत्साही थिएन।
बहुराष्ट्रिय कम्पनीहरुले सन् २०२४ सम्ममा आफ्नो मुख्यालय साउदी स्थानान्तरित गर्ने दुबईको निर्णयपछि फेबु्रअरीमा सम्बन्ध थप चिसियो। युएईले ओपेकमा भएको एक सम्झौताको विरोध जनायो, जसको साउदी पक्षपाती थियो। उडानहरु निलम्बित हुन पुगे। साउदीले कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाइदियो। यसबाट युएईको अर्थव्यवस्थामा झट्का लाग्यो।
आर्थिक प्रतिस्पर्धा
ओपेकमा यी २ देशबीचको टकरावले बढ्दो आर्थिक प्रतिद्वन्द्वितालाई स्पष्ट पार्छ। दुवै देश पेट्रेलियम पदार्थको निर्यातमा आफ्नो निर्भरता घटाएर, अर्थव्यवस्थालाई विविधता दिने प्रयासमा छन्। लन्डनको च्याटम हाउसका एसोसिएट फेलो निल क्विलियम भन्छन्, ‘साउदी अरब खाडीको सबैभन्दा ठूलो देश हो र ऊ अहिले जागेको छ। केही हदसम्म युएईका लागि यो चिन्ताको विषय हो। १५ देखि २० वर्षमा यदि साउदी अरब एक गतिशील अर्थव्यवस्थामा परिवर्तन भयो भने युएईको आर्थिक मोडेलमा खतरा उत्पन्न हुने छ।’
अझैपनि, साउदी र युएई नयाँ ओपेक सम्झौतामा सहमत हुने नहुने स्पष्ट छैन। यी कुराले २ देशबीचको सम्बन्ध अधिक चिसिने अवस्था नरहेको कतिपय विश्लेषक बताउँछन्। उनीहरुका अनुसार, विगतमा दुवै पक्षबीच निकै ठूल्ठूला असहमति भइसकेका छन्। अमेरिका, बेलायतसहितका देशहरुसँगको सम्बन्धमा उतारचढाव आइसकेको छ। तर, दुई देशबीचको यो सम्बन्धको मूल तत्व गठबन्धनलाई हानि गर्ने कुराको तुलनामा निकै मजबुत छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







