फाइल तस्विर
पर्वत। पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो ।
चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उनले बताए । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधीमा अलपत्र बनेका छन् । उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
डाइभर्सन निर्माण गरी साना सवारीसाधन सञ्चालनमा
नवलपुर– अविरल वर्षापछि आएको बाढीका कारण ह्युमपाइप बगाउँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड डाइभर्सन निर्माण गरी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा ह्युमपाइप बगेर अवरुद्ध भएको सडकमा डाइभर्सन गरेर साना सवारी साधन सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले साना सवारी साधन आवागमन गर्न मिल्ने गरी डाइभर्सन निर्माण गरिएको बताए । “ह्युमपाइप बगाएर सडक अवरुद्ध भएपछि केही तलबाट डाइभर्सन निर्माण गरेका छौँ”, मल्लले भने, “डाइभर्सनबाट साना सवारी साधनलाई मात्रै पास गराएका छौँ । ठूला सवारी साधन सडकमै लामबद्ध अवस्थामा छन् ।” उक्त सडक अवरुद्ध भएपछि करिब ६०० भन्दा बढी ठूला सवारी साधन सडकमा लामबद्ध रहेको मल्लले जानकारी दिए ।
ह्युमपाइप बगाएको ठाउँमा सडकसमेत भासिएका कारण सडक मर्मत गरेर राजमार्गबाट सवारी साधन सञ्चालन गर्न समय लाग्ने उनले बताए । “ह्युमपाइप बगेको ठाउँमा सडक पनि भासिएको छ”, मल्लले भन्नुभयो, “दु्रतगतिमा काम भइरहेको थियो । राति काम गर्न समस्या हुँदा सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न ढिला हुने भयो ।
”ह्युमपाइप बगाएको ठाउँमा सडक भासिएर अवरुद्ध भएकै ठाउँबाट ठूला सवारी साधनसमेत चल्न सक्ने गरी सडक मर्मतको काम भइरहेको उनको भनाइ छ । यस वर्ष धेरै पानी परेको तथा नारायणगढ–बुटवल सडक स्तरोन्नतिको समेत काम भइरहेकाले विभिन्न स्थानमा डाइभर्सन बग्ने र सडक अवरुद्ध हुने घटना धेरै भएको मल्लले बताए । केही दिनअगाडि मात्रै सोही राजमार्गअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बगाउँदा २४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







