तस्बीरः एजेन्सी
हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी हमलाकर्ताका एउटा टोलीले गरेको त्यहाँका प्रहरीले जानकारी दिएका छन्।
यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए। प्रहरी प्रमुख लियोन चाल्र्सले दिएको जानकारी अनुसार यो टोलीमा २६ कोलम्बियाली र हाइटी मूलका २ अमेरिकी हमलाकर्ता समावेश छन्।
हमलाकर्तामध्ये ८ संदिग्ध अहिले पनि फरार छन्, जबकी २ अमेरिकीसमेत १७ जनालाई पक्राउ गरिसकिएको छ र अन्य संदिग्धलाई प्रहरीले राजधानी पोर्ट–ओ–प्रिन्समा मुठभेडमा मारेका थिए।
बिहिबार हाइटी पुलिसले केही संदिग्धलाई मिडियासमक्ष सार्वजनिक गरेका थिए। उनीहरुको अगाडि हतियार, कोलम्बियाली पासपोर्ट र अन्य प्रमाण राखिएको थियो। प्रहरी प्रमुखले भनेका छन्, ‘राष्ट्रपतिलाई मार्न हाम्रो देशमा विदेशी आए।’
कोलम्बियाली सरकारका अनुसार यो टोलीमा उनीहरुको सेनाका अवकाशप्राप्त ६ सैनिक पनि समावेश भएको हुनसक्छन्। उसले अनुसन्धानका लागि हाइटीलाई पूरा सहयोग गर्ने बताएको छ। अमेरिकी विदेश मन्त्रालयले हालसम्म कुनै नागरिक हिरासतमा भएको पुष्टि गरेको छैन।
यस हप्ता बुधबार बिहान केही बन्दुकधारीले ५३ वर्षका राष्ट्रपति मोइजलाई उनकै निवासमा छिरेर गोली चलाउन सुरु गरे। अधिकारीका अनुसार राष्ट्रपतिको पिठ्यँमा १२ वटा गोली लागेको थियो र उनको घटनास्थलमा नै मृत्यु भएको थियो। उनकी श्रीमती मार्टिन घाइते भएकी छिन्। उनलाई उपचारका लागि अमेरिकाको फ्लोरिडा राज्यमा लगिएको छ, जहाँ उनको स्थिति स्थिर बताइएको छ।
यद्यपि, हमलाको योजना कसले बनाए वा यसको उद्देश्य के थियो भन्नेबारे केही स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। यद्यपि, हाइटीका अन्तरिक प्रधानमन्त्री क्लड जोसेफले बीबीसीसँगको कुराकानीमा राष्ट्रपति देशमा प्रभाव राख्ने केही ठूला वर्गसँग लडिरहेका कारण उनलाई निशाना बनाएको हुनसक्ने बताएका थिए।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







