तस्बीरः एजेन्सीहरु
घरेलु टोली इंग्ल्यान्डलाई हराउाँदै इटलीले युरोकप फुटबलको उपाधि जितेको छ।
गएराति राति भएको फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो।
उपाधिसँगै इटलीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ। यसअघि, इटलीले १९६८ मा युरोकपको उपाधि जितेको थियो। इंग्ल्याण्डको भने पहिलो पटक युरोकपको उपाधि जित्ने सपना अधुरै बनेको छ।
वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेलमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटलीले इंग्ल्याण्डमाथि बाजी मार्न सफल बन्यो।
पेनाल्टीमा इटलीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्याण्डका गोलकीपर जोर्डन पिकफोर्डले रोके।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। तर, मार्कुस रास्फोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटलीका गोलकीपर जियानलुइजी डोनारुम्माले रोके।
त्यसअघि, खेलमा सुरुवाती अग्रता इंग्ल्याण्डले बनाएको थियो। खेलको दोस्रो मिनेटमै लुक शले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटलीलाई १–१ गोलको बराबरीमा फर्काए।
इंग्ल्याण्डमाथिको जितसँगै इटलीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ। इटलीले यसअघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भंग गरेको थियो। इटलीले १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।
इटलीले सेमिफाइनलमा ३ पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको हो। इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो। इंग्ल्याण्डले भने सेमिफाइनलमा डेनमार्कलाई हराएर इटलीसँगको भेट पक्का गरेको थियो। इंग्ल्याण्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो।
रोनाल्डोलाई गोल्डेन बुट
पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसीप २०२० को गोल्डेन बुट जितेका छन्। उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो सर्वाधिक हाइस्कोररको अवार्ड सहित गोल्डेन बुट हात पारेका हुन्।
इटलीविरुद्ध फाइनलमा इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङलाई यो अवसर रहेपनि उनीहरुले गोल गर्न नसकेपछि रोनाल्डोले नै यो अवार्ड हात पारेका हुन्। रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको ३ खेलमा नै ५ गोल र १ असिस्ट गरेका थिए।

रोनाल्डो युरोपेली च्याम्पियनसीप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन्। उनले कूल १४ गोल गरेका छन्। त्यसपछि अन्य राष्ट्रका खेलाडीले रोनाल्डोको गोललाई उछिन्न सकेनन्। चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे।
फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएका इंग्ल्याण्डका कप्तान ह्यारी केनले ४ गोल गर। केनसँगै बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका करिम बेन्जेमा र स्वीडेनका एमिल फोर्सवर्गले समान ४/४ गोल गरेका थिए।

फाइनलमा २ पेनाल्टी बचाएका र च्याम्पियनसीपभर नै उत्कृष्ट प्रदर्शन गरेका इटलीका गोलरक्षक जियानलुइजी डोन्नररुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित बने।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







