मनाङ। बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ ।
विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयमा सोलार जडान भइरहेको छ ।
पीडामा परेको जिल्लामा हरेक विषयको अद्यावधिक हुनका लागि पनि सोलार जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सोलार, इन्भर्टर र ब्याट्री पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो । करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाइएको थियो ।
सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार गण्डकी सरकारले नै बेहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामग्री पठाइएको मुख्यमन्त्री पोखरेलले बताए । सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पुर्याइएको र शुक्रबार मनाङको सदरमुकाम चामे पुर्याइ शनिबार जडान भइरहेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए ।
बाढीपहिराका कारण स्थानीयस्तरका लघु जलविद्युत् योजनामा क्षति पुगेकाले मनसुन शुरु भएसँगै मनाङ अन्धकारमा रहेको छ । विभिन्न स्थानका राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पोल ढलेका कारण सदरमुकाम चामेसहित अन्य गाउँमा बिजुली बल्न सकेको छैन । असार मसान्तमा सम्पादन गर्ने काममा समेत बिजुली नभएकै कारण प्रभावित भएको अवस्थामा गण्डकी सरकारले सोलार सहयोग गरेर सहजता कायम गराएको प्रजिअ लामिछानेले बताए ।
जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकताका आधारमा सोलार सरकारी कार्यालयमा जडान गरिएको छ । मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा यही असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाहसमेत प्रभावित भएको थियो । स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप बचाउनै मुस्किल भएको बताए ।
“यहाँका मौसमले गर्दा बचाउन अलि सजिलो भएको छ, शनिबार आइतबारदेखि सोलार जडान भएको छ, अब ढुक्क भएका छौँ”, आचार्यले भने । अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको समेत उनले जानकारी दिए । जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको थियो ।(रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







