बंगलादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाउँदै


     एभरेस्ट आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

बंगलादेशमा लागू हुदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय गरिएको छ।

इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो।

यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल अजहा बंगलादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ।

लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलन अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने सरकारी अधिकारीहरूले जनाएका छन्।

सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, सेनिटाइजर र साबुनपानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्णय छ।

पसलहरू, सपिङ मललगायतका ठाउँमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ७ सय ६८ जना नयाँ संक्रमित थपिएको अधिकारीहरूले जनाएका छन्। यो नै अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै संक्रमितको संख्या हो।

बंगलादेशमा अहिलेसम्म कूल संक्रमितको संख्या १० लाख ३४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो एक दिनमा २ सय २० जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कूल संख्या १६ हजार ६ सय ३९ पुगेको छ।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।