पोखरा । मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।
‘बसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएकी छन् ।
केटा पक्षको शब्द भने गायक थापाले लेखेका हुन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । सङ्गीत संयोजन सङ्गीतकार आशिष अविरलले गरेका छन् । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो ।
मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै स्रोता/दर्शकले रुचाएका हुन् । गायक थापाले गीतबाट राम्रो प्रतिक्रिया पाएको बताए । सर्जक/गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आएकी छन् ।
।
गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो । तीज पर्वको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई स्रोता÷दर्शकमाझ ल्याइएको गायक थापाले बताउनुभयो । गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शीवचनलाई गीतमा लयबद्ध गरिएको छ ।
अश्लिलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र सङ्गीतलाई मुखरित गरेको छ । “गीतको सन्देश फरक भए पनि भाका भने रत्यौली नै हो”, गायक थापाले भने । सुर्खेतमा जन्मेकी सुवेदीले सङ्कलन गरेको यस भाकामा उनले आफैँले पहिलोपटक स्टुडियोसम्म पुगेर स्वर दिएकी हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







