टोकियो ओलम्पिक: ६ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ।

चीनले हालसम्म ६ स्वर्ण, १ रजत र ४ काँस्यसहित ११ पदक प्राप्त गरेको छ।

प्रतियोगितामा आयोजक जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्। जापानले हालसम्म ५ स्वर्ण र १ रजत तथा अमेरिकाले ४ स्वर्ण, २ रजत र ४ काँस्य प्रदक प्राप्त गरेको छ।

यस्तै, २ स्वर्ण र ३ काँस्यसहित कोरिया चौथो तथा १ स्वर्ण, ४ रजत र २ काँस्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ।

यसैगरी इटाली, अस्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले १÷१ स्वर्ण जितेका छन्। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गर्न सफल भएका छन्।

नेपालबाट ४ खेलमा ५ खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन्। दुवै जना पराजित भइसकेर जारी टोकियो ओलम्पिकबाट बाहिरिएका छन्। परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। शाहले मंगलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।