सराङकोटबाट एक सय २० बढी काँग्रेसमा प्रवेश


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गरेका हन् ।

नेपाली काँग्रेस कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उपसभापति आइ बहादुर गुरुङ र देवेन्द्र रानाभाटले उनीहरुलाई सदस्यता प्रदान गरी स्वागत गर्नुभएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

‘एमालेले भ्रम सृजना गर्न बाहेक केही गर्न सकेन, त्यसैले एमाले छाड्यौ, सूर्य बहादुर खड्काले भन्नुभयो, एमालेमा लाग्दा गल्ति गरेछौं, त्यसैले काँग्रेस प्रवेश गरेका हौ।’

एमाले सरकारका रहँदा जनताको आधारभूत आवश्यकता पूरा नगरेको र सस्तो लोकप्रियताका लागि मात्र अघि बढेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेता शुक्रराज शर्माले काँग्रेसमा मात्र सबै वर्ग र क्षेत्र सुरक्षित हुने बताए ।
‘काँग्रेस प्रवेश गरेर प्रजातन्त्र र स्वतन्त्रता रोज्नुभयो, उहाँले भन्नुभयो, तपाईहरुलाई पार्टी भित्र मर्यादा पाउनुहुन्छ।’

कास्की काँग्रेसका सभापति कृष्ण केसीले जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर पार्टीले काम गर्ने भन्दै ढुक्क हुन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य कृष्ण प्रसाद तिमिल्सिना, आमन्त्रित सदस्य आश बहादुर गुरुङ, पोखरा १८ इकाइ सभापति शिव प्रसाद तिमिल्सिना, प्रवेशी इन्द बहादुर जलारीले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।