टोकियो ओलम्पिक: सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिन्


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन्।

चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन्। उनले निर्धारित दूरी १२ दशमलव ९१ सेकेण्डमा पूरा गरिन्।

९ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ बनिन्। उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकिनन्। यसअघि, चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सेकेण्ड खर्चिएको रेकर्ड छ। चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ।

नेपालबाट ४ खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी थिए। सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेका छन्।

चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएकी छन्। परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए। पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।