लुम्बिनी प्रदेशमा काँग्रेस–माओवादी नेतृत्वको आलोपालो सरकार

- आउँदो फागुुनसम्म माओवादी केन्द्र र त्यसपछिको बाँकी अवधिका लागि काँग्रेसले नेतृत्व गर्ने सहमति भएको छ


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




लुम्बिनी प्रदेशमा आज (बिहीबार) नयाँ गठबन्धनको नयाँ सरकार गठन हुँदैछ।

प्रदेश सरकारको अवधि अब १६ महिना बाँकी रहँदा गठबन्धनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्दैछ।

मुख्यमन्त्री शंकर पोखरेलले हिँजो (बुधबार) राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

अब, लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ।

लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन्। बहुमतका लागि काँग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन्। काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ।

आउँदो फागुनसम्म माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछिको बाँकी अवधिका लागि काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने सहमति भएको छ।
नेकपा विभाजन र पार्टी भित्रको विवादका कारण एमालेले केन्द्रसहित प्रदेश सरकारको नेतृत्व क्रमशः गुमाउँदै गएको छ।

यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद गएको थियो। गएको जेठ २८ गते प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसक्दा गुरुङ पदमुक्त भएपछि। यस्तै गएको असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका थिए।

योसँगै केन्द्र, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले विपक्षी कित्तामा उभिएको छ। यसअघि, केन्द्र र ४ वटा प्रदेशमा नेतृत्व गर्दै आएको एमालेको नेतृत्वमा अब वाग्मती प्रदेश र प्रदेश–१ मात्र बाँकी छ। दुवै प्रदेशमा माधव नेपाल समूह निर्णायक रहेको बताइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।