अफगानिस्तानबाट १३४ नेपालीहरु सरकारको सम्पर्कमा

- अफगानिस्तानमा १५ सय नेपालीहरु कार्यरत छन्। त्यसमध्ये ३३० नेपाली अफगानिस्तानबाट कतारको दोहा पुगेका छन् । त्यस्तै, १५० नेपाली दुबई पुगेका छन्। उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था । भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था । तोकिएका फोन नम्बरमा आफ्नो विवरण टिपाउन सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध ।


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अफगानिस्तानमा तालिवान समुहले पकड जमाउँदा त्यहाँको राष्ट्रपति राष्ट्रपति घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छोडेर भागिसकेका छन्।

तालिवान समुहले अफगानिस्तानको २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिदाँ अफगान नागरिक र सेनासमेत अन्यत्र पलायन भएको समाचारहरुमा उल्लेख छन्। अफागानिस्तान छाड्ने क्रममा त्यहाँको काबुल अन्तराष्ट्रिय विमानस्थलनमा भिड लागेकोा छ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय निकायमा काम गर्ने नेपालीहरुको विषयलाई लिएर देशभित्र भने चिन्ता बढेको छ। अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा गरि १५ सय बढी नेपाली कार्यरत छन्।

त्यसमध्ये अमेरिकी दूतावासमा कार्यरत ३ सय बढी नेपालको उद्दारका लागि अमेरिकाले पहल गर्ने भएको छ । यस अघि अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका झन्डै १ सय ५० जना नेपालीको उद्दार गरेर दुबई लगेर राखेको छ । अझै अफगानिस्तानमा रहेका ११ सय बढी नेपाली कामदारको बारेमा भने के गर्ने भन्नेबारेमा अझै पनि कुनै पनि निकायले कुनै निर्णय लिन सकेको छैन ।

अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १ सय ३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन्। सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन आइतबार एक कार्यदल गठन गरेको थियो।

संयुक्त राष्ट्रसंघलाई फोन र पत्रमार्फत पनि नेपालीको उद्धारका लागि अनुरोध गरिएको छ। रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शंकरदास बैरागीको कार्यकक्षमा आइतबार अन्तर मन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो।

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य छन्।

मन्त्रालयका अनुसार अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूका उद्धारका हुनेछ। मन्त्रालयले संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, जापानलगायतका देशहरुलाई समेत आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरेको छ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ। अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ।

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ। यस्तै, सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल गरिरहेको छ।

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ। आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ।

त्यस्तै, अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ।

यस्तै, कार्यदलको बैठकले तोकिएका फोन नम्बरमा आफ्नो विवरण टिपाउन सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध गरेको छ। अफगानिस्तानमा कार्यरत नेपालीले सामाजिक सञ्जालको प्रयोग गरेर आपसमा सुरक्षास्थिति तथा उद्धारसम्बन्धी सूचना आदान–प्रदान गर्ने र सार्वजनिक भएका नम्बरमार्फत जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ।

उद्धारको प्रक्रिया सुरु भई स्वदेश आउने क्रममा रहेका नेपालीको नेपाल आगमनपश्चात् गर्ने कोभिड–१९ को परीक्षण तथा क्वारेन्टिनलगायत कार्यको सहजताका लागि आवश्यक समन्वय गरी व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले सरकारका विभिन्न निकायको पदाधिकारी सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीको उद्धार सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए। काबुलबाट आइतबारदेखि नै त्यहाँ रहेको नेपालीको सुरक्षित घर फिर्ती प्रक्रिया क्रमशः सुरु भइसकेको उल्लेख गर्दै परराष्ट्रले त्यसका लागि कूटनीतिक पहलसमेत भइरहेको स्पष्ट पारेको छ।

अफगानिस्तानमा रहेका नेपालीको क्रमिक रुपमा स्वदेश आवागमन १/२ दिनभित्रै सुरु हुनेछ स्पष्ट पारेको छ। त्यहाँ रहेका नेपाली र उनीहरूको रोजगारदातासँग सार्वजनिक गरिएका टेलिफोन नम्बर, इमेलमार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयाँदिल्लीस्थित नेपाली दूतावास नियमित सम्पर्कमा रहेको बताएको छ।

विवरणहरूमा जनाइएअनुसार केही नेपालीलाई रोजगारदाताले नै उद्धार गरेर दोहा पु¥याएका छन्। वैदेशिक रोजगार विभागले अफगानिस्तानमा नेपाली पठाएका म्यानपावर व्यवसायीमार्फत पनि उद्धारको पहल गरिरहेको छ। व्यवसायीले ३३० नेपाली दोहा पुगेको जानकारी दिएको विभागले जनाएको छ । केही नेपाली भने काबुलस्थित विमानस्थलमा रहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।