महानगरको शिक्षा शाखा र अनेरास्ववियुबीच सहमति भएपछि खुल्यो तालाबन्दी


     शुभसन्देश गौतम    
     भाद्र १ गते २०७८ मा प्रकाशित




पोखरा । अनेरास्ववियु कास्की र पोखरा महानगरपालिकाको शिक्षा महाशाखाबीच सहमति भएपछि अनेरास्ववियुले गरेको तालाबन्दी खुलेको छ ।

कक्षा ११/१२ का विद्यार्थीलाई दिइने छात्रवृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएपछि अनेरास्ववियुले मंगलबार (आज) तालावन्दी गरेको थियो । अनेरास्ववियुले यसअघि आइतबार जिल्ला समन्वय समिति कास्की र पोखरा महानगरपालिकालाई निष्पक्ष ढंगबाट विद्यार्थी छनोट गरी छात्रवृत्ति उपलब्ध गराउन र सो सम्बन्धमा हुने विकृति विसङ्गती अन्त्य गराउन ध्यानाकर्षण गराएको थियो ।

ध्यानाकर्षणबारे कुनै पहल नभएपछि अनेरास्ववियुले आज बिहान तालाबन्दी गरेको थियो । तालाबन्दी पछि भएको वार्तामा महानगरले कक्षा ८ र १० को ग्रेडशिटका आधारमा छात्रवृत्ति प्रदान गर्न सहमति जनाएपछि ताला खोलिएको अनेरास्ववियु कास्कीका संयोजक विजय पौडेलले बताए । ‘अब कक्षा ८ र १० को ग्रेडसिटको आधारमा छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ’, पौडेलले भने, ‘अब महानगरको शिक्षा शाखाले नै निर्णय गर्नेछ, जसबाट निजि विद्यालयले छात्रवृत्ति वितरणमा गर्ने मनोमानीको अन्त हुनेछ ।’

पौडेलका अनुसार २ वर्षदेखि कोरोना भन्दै महानगरले परीक्षा नलिई छात्रवृत्तिलाई निजी विद्यालयको जिम्मा लगाइदिएको थियो । यो व्यवस्थाले जेहेन्दार तथा गरिब विद्यार्थी छात्रवृत्तिबाट बञ्चित हुने अवस्था आएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।