पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले प्रदेशको राजधानी छाड्न मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको छ । अर्थात जिल्ला आड्नुअघि गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने भएको हो ।
यसअघी विदेश जानुपर्दा मात्रै मन्त्रीहरुले मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने प्रावधान थियो । तर गण्डकी प्रदेश सरकारले मन्त्रीहरुका लागि आचारसंहिता जारी गर्दै जिल्ला छाड्नुअघि अनिवार्य रुपमा मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने बाध्यकारी ब्यबस्था गरेको हो । उक्त ३० बुँदे आचारसंहितालाई गण्डकी प्रदेश सरकारको गत साउन ३२ गते बसेको मन्त्री परिषद बैठकले पारित गरेको छ ।
आचारसंहिताको बुँदा नम्बर १५ मा भनिएको छ,‘मन्त्रीले कास्की जिल्लाबाहिर जानुपर्दा वा विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने र भ्रमणको सम्बन्धमा राष्ट्रको नाममा प्राप्त हुने दान, पुरस्कार वा उपहार गण्डकी प्रदेशलाई बुझाउनुपर्ने ।’
आचारसंहितामा मुख्यमन्त्रीद्वारा जारी गरिएका हरेक निर्देशनहरुलाई पूर्ण पालना गर्नुपर्ने उल्लेख छ । साथै मन्त्री परिषदमा वा मन्त्री परिषदका सदस्यहरुबीच भएको वा हुने कुनैपनि विवाद सञ्चारमाध्यममार्फत अभिव्यक्त गर्ने वा गर्न लगाउनलाईपनि आचारसंहिताले बन्देज लगाएको छ ।
त्यस्तै गण्डकी प्रदेशका मन्त्रीहरुलाई सरकारका नीति, कार्यक्रम र बजेटबिरुद्ध बोल्न बन्देज गरिएको छ । आचारसंहिताको २३ नम्बर बुँदामा भनिएको छ,‘गण्डकी प्रदेश सरकारको आधिकारिक नीति तथा कार्यक्रम सरकारको प्रवक्तामार्फत मात्र सार्वजनिक गर्ने गराउने ।’
मन्त्रीहरुलाई अनुशासनमा बाँध्न आचारसंहिता बनाइएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले बताए । साउन ३२ गते बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार भेटघाटमा उनले भने,‘नेपालको संघ र प्रदेश सरकार वेष्ट मिनिस्टर सिस्टममा आधारित छ, यस प्रणालीमा प्रधानमन्त्री र मुख्यमन्त्री शक्तिशाली हुन्छ, त्यसैले मन्त्री परिषदका सदस्य भएपछि मुख्यमन्त्रीको कार्यकर्ता भएका कारणले गर्दा मुख्यमन्त्रीको निर्देशन, आदेश मन्त्रीका लागि बाध्यकारी हुनुपर्छ भन्ने उद्धेश्यले यो आचारसंहिता बनाइएको हो ।’ उनले अघिल्लो सरकार एकल पार्टीको भएकाले मुख्यमन्त्री दलको नेतासमेत भएकाले मुख्यमन्त्रीको आदेश पार्टीको आदेशजस्तै मानिने भएपनि अहिले गठबन्धनको सरकार भएकाले पहिलेजस्तो मुख्यमन्त्रीको आदेश पालना गर्नु पर्दैन कि भन्ने बुझाई हुनसक्ने भएकाले आचारसंहिता बनाउनुपरेको स्पष्ट पारे ।
यसैगरी मन्त्री परिषद बैठकले सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुर्नस्थापना तथा ब्यबस्थापन कार्यविधीपनि पारित गरेको छ । सडक आश्रित मानवमुक्त बनाउने उद्धेश्यले ल्याइएको सो कार्यविधी मन्त्री परिषद बैठकले पारित गरेको प्रवक्ता खड्काले बताए । उनका अनुसार सकड आश्रित मानवको उद्धार, पुर्नस्थापना र उनीहरुको ब्यबस्थापन गर्नका लागि सरोकारवाला संस्थाहरुलाई सरकारले सूचना निकालेर निवेदन आह्वान गर्ने र त्यसरी आएका निवेदन उपर छानविन गरी उनीहरुलाई आवश्यक रकम सरकारले दिने कार्यविधीमा उल्लेख छ ।
सरकारले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका लागि आवश्यक पर्ने नियुक्ती मापदण्डसमेत पारित गरेको छ । २ महिलासहित ३ जना मनोनित गर्न पाउने सो प्रतिष्ठानका लागि स्नातकोत्तर तह उत्तिर्ण, ४० वर्ष नाघेको, १० वर्षको अनुभव तथा फौजदारी अभियोग नलाग्नुका साथै कुनैपनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डलाई मन्त्री परिषदले पारित गरेको प्रवक्ता खड्काले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







