पोखरा लेडी जेसिजको जेसिज सप्ताह कार्यक्रम : सक्षम बनाउन तालिमदेखि गरीव असहायःलाई सहयोगसम्म


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित




पोखरा लेडी जेसिजले जेसिजले जेसिज सप्ताहको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ ४ गतेदेखि १० गतेसम्म हुने जेसिज सप्ताह शुरु हुनुअघि विहीबार पोखरा लेडी जेसिजले भर्चुअल रुपमा पत्रकार सम्मेलन गरेर जेसिज सप्ताहको कार्यतालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको तालिका अनुसार जेसिज सप्ताहको पहिलो दिन पोखरा लेडी जेसिजले प्रभावकारी भाषण कला तालिम सञ्चालन गर्नेछ । पोखरा महानगरपालिका वडा नम्बर ३ को सहकार्यमा सोहि कार्यालयमा हुने तालिमको जेसी प्रमिला सुवेदीको संयोजनमा हुने जनाइएको छ ।

जेसिज सप्ताहको दोश्रो दिन विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल वोर्डिङ स्कुल प्राङ्गणमा विद्यार्थी लक्षित गरेर आयोजना हुने सो प्रतियोगिता जेसी सम्झना बस्नेतको संयोजनमा हुनेछ ।

सप्ताहको तेश्रो दिन पोखरा लेडी जेसिजले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा विरामी कुरुवाहरु बस्नका लागि आवश्यक कुर्सीलगायतका विविध सामग्री प्रदान गर्नेछ । विरामी कुरुवा लक्षित सो कार्यक्रमको संयोजन जेसी विनिता सुवेदीले गर्ने पोखरा लेडी जेसिजकी अध्यक्ष कमला सापकोटा (विनिता)ले जानकारी दिईन् ।

जेसिज सप्ताहको चौथो दिन ‘सकारात्मक सोंच तथा जीवन परिवर्तन’ तालिम हुने भएको छ । जाल्पा आमा समूहको सहकार्यमा युवा तथा महिला व्यवसायी लक्षित गरेर साइमन पार्टी प्यालेस सृजनाचोकमा हुने सो कार्यक्रमको संयोजन जेसी गीता ढुंगानाले गर्नेछिन् ।

जेसिज सप्ताहको पाचौं दिन गरीव तथा असहायः वर्गलाई खाद्यान्न तथा उनीहरुलाई अत्यावश्यक पर्ने सामग्री वितरण गरिने भएको छ । जेसी शुभद्रा बरालको संयोजनमा हुने कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर २० स्थित भलाम आधारभुत विद्यालयमा हुनेछ ।

जेसिज सप्ताहको छैटौं दिन पोखरा लेडी जेसिजले मन्टेश्वरी बालबालिका लक्षित गरेर मन्टेश्वरी चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । जेसी रिना पौडेलको संयोजन र हिमालयन रिडर्स कर्नर न्यूरोडको सहकार्यमा हुने सो कार्यक्रम हिमालयन रिडर्स कर्नर न्यूरोडमै हुने अध्यक्ष जेसी सापकोटाले जानकारी दिईन् ।

जेसिज सप्ताहको सातौं तथा अन्तिम दिन पोखरा लेडी जेसिजले मठ,मन्दिरमा आवश्यक सामग्री वितरण गर्दै सप्ताहको समापन गर्ने भएको छ । जेसी लिलावती पनेरु (सरु)को संयोजनमा हुने सो कार्यक्रम मादी गाउँपालिका वडा नम्बर ५ स्थित मादीबेसी, भद्रकाली मन्दिरमा हुने अध्यक्ष सापकोटाले बताइन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै भौतिक रुपमा उपस्थित भएर गरिने कार्यक्रममा स्वास्थ्यका मापदण्डहरु जस्तै भौतिक दुरी कायम गर्ने, मास्क र सेनिटाइजरको प्रयोग गरिने अध्यक्ष सापकोटाले बताईन् । उनले परिस्थिति अनुसार कार्यक्रमलाई परिमार्जनसमेत गर्दै लगेको उल्लेख गरिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।