मनाङको तलेखु–भ्राताङ भीरमा ‘ब्लाष्टिङ’


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित




मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु–भ्राताङ भिरमा नयाँ ट्रयाक खोल्न तयारी गर्दै सेना । गत असार १ गते आएको बाढीपहिराका कारण उक्त भिर अन्तर्गतको एक मात्र सडक सञ्जाल माथिल्लो र तल्लो मनाङ आवतजावत पूर्ण रुपमा अवरुद्ध छ । तस्वीर : नवीन लामिछाने

मनाङ । मनाङको मेरुदण्डका रुपमा रहेको तलेखु–भ्राताङ भीरमा नयाँ निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन सुरुआत गरेको हो । दुई महिना भन्दा बढीसो सडकमार्ग अवरुद्ध हुँदैआएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान कटेर ट्र्याक बनाउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

चट्टानी भीरमा सडक अवरुद्ध हुँदा माथिल्लो मनाङ र तल्लो मनाङ बीचको आवतजावत समेत रोकिएको छ । यसलाई सहज बनाउन नयाँ ट्र्याक खुलाउन लागिएको उनले बताए । सांसद पोल्देन छोपाङले भीरमा ड्रिलिङ कम्प्रेशर मेसिनद्वारा ड्रिलिङ गरी प्वाल बनाइ ब्लास्टिङ थालिएको र केही समयमा ट्र्याक खुल्ने जानकारी दिए ।

ङिस्याङ गाउँपालिका–१ भ्राताङ भीरमा ब्लास्टिङ शुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने “मनाङको सडकखण्ड अन्तर्गतको सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भीरमा बाढीपहिराले पूर्ण रुपमा सडकको निसान नै मेटाएको थियो । यसले गर्दा नयाँ ट्र्याक निर्माण गर्न थालिएको हो । ” यस भीरमा सडकको ट्र्याक खुलाएपछि माथिल्लो र तल्लो मनाङ बीचमा आवतजावतमा सहज हुने उनले बताए । गत असार १ गते आएको बाढीपहिराले गर्दा उक्त भीरको सडक मार्ग क्षतविक्षत् भएर अवरुद्ध भएको थियो ।

“अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले जोखिम बढ्नुका साथै सडकको निशान हराएको छ । यस भीरमा नयाँ ट्र्याकका लागि बम प्रहार गरी सडक बनाउने कार्य भइरहेको छ । सेनाले उक्त भीरको चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम सोमबारदेखि थालिएको हो,” उनले भने । सडक निर्माणका लागि चट्टानमा प्वाल बनाइ बम राखेर ब्लाष्टिङ भइरहेको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार जेसिबी र एक्साभेटरको प्रयोगबाट सडक सञ्जाल जोड्ने काम भइरहेको छ ।

बेँसीशहर–चामे सडक अन्तर्गतको बेँसीशहरबाट माथि ३५ किमी सडक सञ्चालनमा आइसकेको छ । यस्तै चामेबाट माथिल्लो क्षेत्रमा सडक सञ्चालन भए पनि तलेखु–भ्राताङ भीरको सडक निर्माणका प्रक्रियामा छ । उक्त सडक क्षेत्रमा सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । गत जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । पुनः गत असार १ गते आएको बाढीपहिराले जिल्लाका धेरै स्थानमा पूर्ण रुपमा क्षतविक्षत् बनाएको थियो ।

यसका लागि स्थालमार्गको असहजताले गर्दा निर्माण कार्यमा सकस भएको छ । सडक निर्माण तथा मर्मतका लागि आवश्यकपर्ने सामग्री र इन्धन ढुवानीको सहज पहुँच नहुँदा निर्माण ढिलाइ भएको सडक डिभिजन कार्यालयको भनाइ छ । बाढीपहिराको क्षति पुर्‍याउन सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भए बमोजिम मर्मत थालिएको हो । बेँसीशहर–चामे सडक खण्ड १०७ किलोमिटर रहेको छ । सडक अन्तर्गत केही स्थानमा नयाँ ट्र्याक पनि खुलाउने प्रयासमा रहेको जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।