काँग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत, कास्कीमा रेग्मी


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ।

यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो।

पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृतहरू जिल्ला जिल्लामा जाने क्रम सुरु भएको छ। पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको हो। हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको हो।

निर्वाचन अधिकृतलाई क्रियाशील सदस्यताको नामावली, निर्वाचन निर्देशिका लगायतका निर्वाचनसँग सम्बद्ध सामग्री पठाइएको छ।

क्रियाशील सदस्यताको छिनोफानो भएपछि बाँकी जिल्लामा पनि प्रतिनिधि खटाइने काँग्रेसले जानकारी दिएको छ। पार्टीले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिन समय लागेपनि छिनोफानो भएका जिल्लामा भने निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन अधिकृत खटाइएको हो।

सबै जिल्लामा भदौ १८ गते एकै चरणमा वडास्तरको अधिवेशन गरिने भएपनि प्रतिनिधि भने विभिन्न चरणमा खटाउनुपर्ने अवस्था छ।

कास्कीमा रेग्मी

कास्की काँग्रेसको महाधिवेशन सम्पन्न गर्न अधिवक्ता मदन रेग्मीलाई खटाएको छ। स्याङ्जामा जन्मिएका रेग्मी हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्। रेग्मी, काठमाडौं जिल्ला बारको पूर्व उपाध्यक्षसमेत हुन्।

यसअघि, रेग्मीले काँग्रेसको १२ औं महाधिवेशमा ललितपुर र १३ औं महाधिवेशनमा कैलालीको निर्वाचन अधिकृत भएर काम गरिसकेका छन्। दुवै समयमा, दुवै जिल्लामा काँग्रेसको विवाद रहँदा रेग्मीले निर्वाचनलाई सफलताका साथ सम्पन्न गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।