नेपाल सरकारले घरघरमा दीपावली गरेर ३ दिनसम्म सातौं संविधान दिवस मनाउने निर्णय गरेको छ।
नेपालको संविधान जारी भएको असोज ३ गतेलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ ।
सरकारले संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो।
संविधान दिवसका अवसरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायतका कार्यक्रम गर्ने सरकारको तयारी छ। संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ।
मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको बुधबार बसेको बैठकले संविधान दिवसको प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका संचारमाध्यमलाई आग्रह गरेको छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा.बैकुण्ठ अर्यालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आ–आफ्ना घरघरमा सम्मानका साथ राख्न पनि अनुरोध गर्ने निर्णय गरेको छ।
संविधान दिवसको शुभकामना सन्देश वा एसएमएस नेपाल टेलिकममार्फत व्यापक रुपमा पठाउने तथा डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्ने, नेपालको संविधानका विषयमा केन्द्रीत रहेर विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क, स्मारिका प्रकाशन गर्नुका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेखरचनाको सँगालो प्रकाशन गर्ने निर्णय पनि समितिले गरेको छ।
साथै राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानबाट संविधानको महत्वबारे समाचार, आलेख, अन्तर्वार्ता, कार्यक्रम आदि प्रसारण, प्रकाशन गर्ने निर्णय पनि समितिले जनाएको छ। काठमाडौँ उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकामना सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले समन्वय गर्न अनुरोध गरिने अर्यालले बताए। नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







