नेपालले ओमनसँग मैत्रीपूर्ण खेल खेल्ने


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले आउँदो सेप्टेम्बर २६ मा ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

मैत्रीपूर्ण खेल दोहास्थित कतार विश्वविद्यालय फुटबल मैदानमा साँझ ७ बजे हुने एन्फाले जनाएको छ।

माल्दिभ्समा अक्टोबर १ बाट सुरु हुने साफ च्याम्पियनसीपको तयारीका लागि हाल राष्ट्रिय टोली कतारमा बन्द प्रशिक्षणमा छ।

च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई विदाई गर्न लागेको हो। नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ।

साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ। साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागी हुनेछन्। कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाउन पाउने छैन।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६  (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।