सगरमाथा र फेवातालको चार किल्ला नापेर चर्चा कमाएका खिमलाललाई नागरिक समाजको भव्य विदाई


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७८ मा प्रकाशित




सरकारद्धारा गठित फेवातालको चार किल्ला निर्धारण सीमाङ्कन तथा नक्साङ्कन समितिका सदस्य सचिव इन्जिीनियर खिमलाल गौतमलाई पोखराबाट भव्य विदाई गरिएको छ । जिल्ला नापी कार्यालय कास्कीको प्रमुख समेत रहेका गौतम कार्यालयबाट सरुवा भई जाने भएपछि पोखराका कार्यरत रहँदा उनले फेवातालको नक्सांकन तथा सीमाङ्कन लगायतका महत्वपूर्ण कामका लागि उनलाई नागरिक समाज कास्की,रत्न मन्दिर फेवाताल सरोकार समिति र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले भव्य सम्मानसहित विदाई गरेको हो । कार्यक्रममा गौतमलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव डा दामोदर रेग्मीले इन्जिीनियर खिमलाल गौतमलाई सम्मान गरेका थिए ।

गौतम विसं २०७५ मंसिर २० गते गौतम नापी कार्यालय कास्कीमा हाजिर भएका थिए। आफू कार्यलय प्रमुखमा आएलगत्तै उनले जग्गा प्रशासनमा विचौलियाको अन्त्य गर्नका लागि मोवाइल एप्लिकेशन नेपालमै पहिलोपटक शुरुआत गरेका थिए ।

गौतम सगरमाथाको उचाइ नापेर चर्चामा आएका व्यक्ति हुन् । पछिल्लो पटक बहुचर्चित फेवातालको चार किल्ला निर्धारण, सीमांकन र नक्सांकन समितिको सदस्य सचिव भएर उनले महत्वपूर्ण प्राविधिक कार्य गरेको भन्दै नागरिक समाजले सम्मान गरेका हुन् । सो समितिले अघिल्लो महिना नेपाल सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ ।

कार्यक्रममा गौतमले नागरिकबाट पाएको मायाले आफूलाई हर्ष विभोर भएको बताए। निजामती सेवामा सरुवा बढुवा सामान्य प्रक्रिया भएको भन्दै उनले नागरिक अभियानमा आफूँ सदैव क्रियाशील रहने प्रतिवद्धता जनाए । उनले भने,“मेरो घर यही कास्की लामाचौरमा हो । बुबा आमा सबै यहीँ हुनुहुन्छ । सरुवा भएर गएपनि म सँधै यहीँनै रहने छु । यो सम्मानले हर्ष विभोर बनाएको छ । ”

प्रमुख सचिव रेग्मीले इन्जिीनियर गौतमको व्यावसायिक, सामाजिक, व्यक्तिगत र पारिवारिक जीवनको सफलताको शुभकामना व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नापी कार्यालयमा गुनासो नआउने गरी काम भएको बताए ।

नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले फेवातालको चार किल्ला निर्धारण र सीमांकन समितिले बुझाएको पछिल्लो प्रतिवेदन सार्वजनिक गर्न माग गरे । कार्यक्रमा नागरिक अभियन्ताहरु शिवमाया श्रेष्ठ , शशी तुलाचन, खिमा कुमारी गुरुङ लगायतले खिमलाल गौतम सच्चा सपुत भएकाले उनलाई हौसला प्रदान गर्नु सबैको दायित्व भएको बताए । उनीहरुले गौतमको सिको अन्य कर्मचारीलेपनि गर्नुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।