के तपाईं स्मार्ट लाईसेन्स नपाएर हैरानीमा हुनुहुन्छ ? कि तपाईं सबै प्रक्रियामा उत्तिर्ण भएरपनि लाईसेन्स आउन ढिलाई हुने खबरले चिन्तित हुनुहुन्छ ? यदी त्यस्तो हो भने अब तपाईंले चिन्ता लिनुपर्दैन । किनकी यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीले अब १० मिनेटमै लाईसेन्स दिने भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न शुरु गरेको हो । जसले तपाईंको सबै हैरानी र चिन्ता दूर गरिदिने भएको छ ।सो अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरणको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरे । लिखित परीक्षा र ट्रायल परीक्षा दुबै पास गरेर शुक्रबार राजश्व बुझाउने पहिलो सेवाग्राही दर्पण थारुलाई मन्त्री खड्काले परीक्षणकालीन सवारी चालक अनुमति पत्र दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीले सो सेवा शुरु गरेसँगै अब गण्डकी प्रदेशका सेवाग्राहीले राजश्व तिरेको १० मिनेट भित्रै परीक्षणकालीन सवारी चालक अनुमति पत्र प्राप्त गर्नेछन् । कार्यालयका निमित्त प्रमुख भरतराज काफ्लेका अनुसार स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाउनेलाई तत्काल अस्थायी कार्ड दिन लागिएको हो । जुन कार्डको अवधी एक वर्षको हुन्छ । सो एक वर्ष भित्रमा स्मार्ट लाईसेन्स आएमा अस्थायी कार्ड बुझाएर सेवाग्राहीले स्मार्ट लाईसेन्स लैजान पाउँछ ।
स्मार्ट लाईसेन्सका लागि राजश्व बुझाएका सेवाग्राहीहरुले ४ वर्षसम्म स्मार्ट लाईसेन्स नपाउँदा हैरानी बेहोर्नुपरेको थियो । सोहि हैरानीको अन्त्य गर्न अस्थायी कार्ड वितरण गर्न थालिएको कार्यालयका अधिकृत रमानाथ आचार्यले बताए । ‘स्मार्ट लाईसेन्सको नाममा ४ वर्षदेखि कार्ड आएको छैन, कार्ड नहुँदा सेवाग्राहीले राजश्व तिरेको रसीद बोक्ने गरेका छन्, तर त्यो रसीदमा अनुहार नहुँदा दुरुपयोगपनि भइरहेका छन्, रसीद च्यातिने, कार्वन उडेर नामै मेटिनेपनि हुन्छ, यस्तो झञ्झटबाट मुक्ति अस्थायी कार्डले दिन्छ’–उनले भने । उनले प्रिन्ट गर्न वर्षौं लाग्ने हो भने स्मार्ट लाईसेन्सको सट्टामा बरु अस्थायी कार्डलाई नै स्थायी लाईसेन्सको मान्यता दिनु राम्रो हुने बताए ।
नया लाईसेन्सवालाले अस्थायी कार्ड पाएपनि नवीकरणवालाले भने अस्थायी कार्ड नपाउने भएका छन् । यातायात व्यवस्था विभागले विवरण नदिदा नवीकरणवालालाई अस्थायी कार्ड दिन अप्ठेरो भएको प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले बताए । ‘नवीकरणवालालाई पनि दिने हो, तर त्यसका लागि विभागले हामीलाई विवरण दिनुप¥यो, विवरण दिएन भने यहिंबाट स्थायी लाईसेन्स दिने प्रक्रियामा प्रदेश सरकार अगाडि बढ्छ’–उनले भने । उनले संघीयता आएपनि गण्डकीको विवरण संघ सरकार मातहतको काठमाडौं एकान्तकुनामा पुग्ने र त्यो विवरण लिन खोज्दा नपाइने स्थिति रहेको बताए ।
मन्त्री खड्काले यातायात कार्यालयको सेवा दिने शैली परम्परावादी भएको टिप्पणी गरे । ‘यहाँको सेवा सेवाग्राहीमैत्री छैन, जसले गर्दा सरकार नभएजस्तो महशुष गराउँछ, यसले जनतालाई बिचौलियाको हातमा पु¥याउँछ’–उनले भने । उनले बिचौलियारहित कार्यालय बनाउन सहयोगी कक्षकोसमेत स्थापना गरेको बताउँदै अब पेपरलेस बनाउनेसमेत बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्णप्रसाद दवाडीले सेवा प्रभावकारी हुँदा सरकारप्रति जनताको अपनत्व महशुष हुने र यसले संघीयता बलियो बनाउन सघाउने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







